भक्तपुरमा कोरोनाले मर्नेको संख्या १३ पुग्यो
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत ती पुरुषको शनिबार बिहान मृत्यु भएको थियो। स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ती पुरुषको मृत्यु भएको बताइन्।
सुरुमा निमोनिया भएर उनलाई उपचारको लागि मध्यपुर थिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लगिएको थियो। शंका लागेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि पाटन अस्पताल लगिएको अधिकृत बल्लले जानकारी दिइन्। यससँगै मध्यपुर थिमि नपाका मात्रै ७ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।
अधिकृत बल्लले मध्यपुर थिमि नपाका ४ पुरुष र ३ महिला गरी ७ जनाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जानकारी दिइन्। त्यस्तै सूर्यविनायक नपाका २ महिला र २ पुरुष गरी ४ जना र भक्तपुर नपाका २ पुरुषले कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको उनको भनाइ छ।
२७ भदौ २०७७, शनिवार १३:११ बजे प्रकाशित











