भक्तपुरमा सांसददेखि वडा अध्यक्षसम्म कोरोना संक्रमित संख्या ८९४ पुग्यो ,१० जना सम्पर्कविहीन
भक्तपुरमा शुक्रबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या आठसय ९४ पुगेको छ। जसमा ४ सय ९५ पुरुष र महिलाको संख्या ३ सय ९९ रहेको छ।
शुक्रबारसम्म २ सय १२ महिला र एकसय २७ पुरुष गरी ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताइन्। यो कूल संक्रमतिको ३९ प्रतिशत हो। समग्र नेपालमा कोरोना भाइरसलाई जित्नेको प्रतिशतभन्दा भक्तपुरको अत्यन्त न्यून रहेको छ।
भक्तपुरमा चार नपामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमिमा रहेका छन्। यहाँ शुक्रबारसम्म संक्रमितहरुको संख्या ३ सय ५४ पुगेको छ। जसमा एकसय ९१ महिला र एकसय ६३ पुरुष रहेका छन्। स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत बल्लका अनुसार मध्यपुर थिमिपछि भक्तपुर नपामा संक्रमितको संख्या बढेका छन्। यहाँ शुक्रबारसम्म एकसय १३ पुरुष र एकसय ११ महिलासहित २ सय २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्।
सांसददेखि वडा अध्यक्षसम्म संक्रमित
भक्तपुर नपा २ निवासी भक्तपुर क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा रहेका छन्। उनी भक्तपुर नपाका पूर्वप्रमुख पनि हुन्। त्यस्तै भक्तपुर नपाका दुई वडा अध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनीहरुको संक्रमण उपचारको लागि आइसोलेसनमा रहेका छन्।
भक्तपुर नपाकै एक महिला वडा सदस्य भने कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भइसकेकी छन्। पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ। भक्तपुरले संक्रमितको संख्यामा सूर्यविनायक नपालाई उछिनेको हो। सूर्यविनायक नपामा भने एकसय १३ पुरुष र ८३ महिला गरी एकसय २७ र चाँगुनारायण नपामा ७८ पुरुष र ३३ महिला गरी एकसय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन्।
१० जना सम्पर्कविहीन
अधिकृत बल्लका अनुसार भक्तपुर तोकिएर आएका १० जना संक्रमित अझै सम्पर्कमा आएका छैनन्। ‘कतिको सम्पर्क नम्बर गलत छ’, उनले भनिन्, ‘कसैले जति सम्पर्क गरेर पनि मोबाइल उठाउँदैनन्।’ कसैको पनि स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको उनले सुनाइन्।
२७ भदौ २०७७, शनिवार १३:१९ बजे प्रकाशित












