ओसाका सेमिफाइनलमा
न्युयोर्क स् जापानी खेलाडी नाओमी ओसाका अमेरिकन यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
न्युयोर्कमा बुधबार बिहान भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई पराजित गर्दै ओसाकाले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
चौथो वरीयताकी ओसाकाले रोजर्सलाई ६–३, ६–४ को सेटमा पराजित गरिन् । २२ वर्षीया ओसाकाले सेमिफाइनलमा अर्की अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्ने छिन् ।
सिनसिनाटी ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा खुट्टामा चोट बोकेपछि ओसाकाले यूएस ओपन खेल्नेमा आशंका गरिए पनि उनले अहिले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् ।
सिनसिनाटी ओपनको सेमिफाइनलमा बेलायती टेनिस स्टार जोहाना कोन्टासँग प्रतिस्पर्धा गर्दा चोट बोकेपछि उनले फाइनल खेल त्यागेकी थिइन् ।
ओसाकाले चोटका कारण नाम फिर्ता लिएपछि बेलारुसकी भिक्टोरिया अजारेन्काले महिलातर्फको उपाधि जितेकी थिइन् ।
पहिलो पटक सेमिफाइनलमा स्थान बनाएकी जेनिफरले कजाकिस्तानकी युलिया पुनित्सेभालाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।
यूएस ओपनको पुरुषतर्फको प्रतिस्पर्धामा जर्मनीका पाँचौं वरीयताका एलेक्डेन्जर जुरेभले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।
जुरेभले क्रोएसियाका बोर्ना कोरिचलाई १–६,७–६ ९७–५०, ७–६ ९७–१०, ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । जुरेभले फाइनल प्रवेशका लागि स्पेनका पाब्लो बुस्टासँग प्रतिस्पर्धा गर्ने छन् ।
पाब्लोले क्यानडाका डेनिस सापोभालोपलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए ।
२५ भदौ २०७७, बिहीवार ०८:१५ बजे प्रकाशित












