घर फर्कन नपाउँदा परदेशमै श्रमिकको प्रदर्शन
समयमा घर फर्कन नपाएपछि नेपाली श्रमिकहरुले परदेशमै आफ्नो सरकार विरुद्ध प्रदर्शन थालेका छन् ।
कोरोना महामारी सुरु भएदेखि नै बेरोजगार भएर घर फर्कने प्रतिक्षामा रहेका उनीहरु प्रदर्शनमा उत्रन बाध्य भएका हुन् ।
कोरोना महामारी सुरु भएपछि झण्डै तीन महिना जहाज उडेनन् । त्यसपछि समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीकै लागि चार्टर्ड जहाज उड्न थाले । तर घर फर्कने नेपाली धेरै र उडान सङ्ख्या थोरै हुँदा आफैं टिकट काटेर आउँछु भन्ने श्रमिक पनि फर्कन पाएनन् । हातमा सुको नभएर टिकटै काट्न नसक्ने श्रमिकको समस्या त परको कुरा ।
श्रमिकहरु महिनौंदेखि हजार दुःख सहेर घर फर्कनैका लागि कुरिरहेका छन् । तर कहिले उडान नै स्थगित गर्ने कहिले भाडामा मोलतोल गर्ने त कहिले नेपाली लिन गएको जहाज पनि रित्तै फर्कनेजस्ता प्रवृत्तिले श्रमिकको धैर्यताको बाँध फुट्न थालेको छ । त्यसैले उनीहरु परदेशको कानुन र परिस्थितिको वास्तै नगरी सडकमै आन्दोलन गर्न बाध्य भएका हुन् ।
गएको वैशाख २३ गते यूएईको कम्पनीमा काम पनि नभएको र खाना बस्न पनि नपाएको भन्दै नेपालीहरु झोला बोकेर दूतावासको गेटमा पुगे ।
यूएईको सारजहा इमिरेट्स ट्याक्सी क्याबमा रोजगारीका लागि गएका उनीहरु झण्डै दुई सय किलोमिटर यात्रा गरेर आबुधाबीमा रहेको नेपाली दूतावास पुगेका थिए । उनीले दूतावास अघिल्तिर कि खान र बस्न देउ कि घर पठाइदेउ भन्दै धर्ना दिएका थिए ।
नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर यूएई पुगेका उनीहरुमध्ये धेरैले तलब पाएका थिएनन् । कतिपयको भिसा समेत क्यान्सिल भएपछि कुनै विकल्प नभेटेपछि उनीहरु झोला बोकेरै दूतावासको गेटमा पुगेका थिए ।
मंगलबार साउदीमा पनि नेपाली श्रमिकहरु सरकार बिरुद्ध उत्रिए । सात महिनादेखि कामबिहीन हुँदा पनि घर फर्कन नपाएपछि उनीहरुको आक्रोश साउदीको गर्मीभन्दा चर्को थियो । घर फर्कने पालो कुरिरहेका श्रमिकले सरकारले तोकेको उडान सङ्ख्या र स्वदेश फिर्तीको नीति देखेपछि सडकै उत्रनु परेको बताएका छन् ।
साउदीको रियादमा रहेको नेपाली दूतावास परिसरमा श्रमिकहरुले दूतावास र सरकार विरुद्ध नाराबाजी गरेका छन् । सात महिनादेखि घर फर्कनकै लागि क्याम्पभित्र कोचिएर बसेका उनीहरु अझै घर आउने पालो अनिश्चित हुँदा सडकमा उत्रिएका हुन् ।
स्वदेश फिर्तीका लागि साउदीमा मात्रै सरकारले दिनमा पाँच उडान गर्नुपर्ने उनीहरुको माग छ । तर सरकारले साउदीमा सेप्टेम्बर महिनाका लागि १५ उडानको अनुमति दिएको छ । यो एक महिनाको अवधिमा साउदीबाट जम्मा तीन हजार श्रमिक फर्कन पाउँछन् । बाँकीले अझै कहिलेसम्म कुर्नपर्ने हो अनिश्चित छ ।
२५ भदौ २०७७, बिहीवार ०६:०३ बजे प्रकाशित





