उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्ने तयारी
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा नेपाली सेना परिचालन गर्ने तयारी भएको छ ।
कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो ।
केही समय अघि गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखेर सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिएका थिए ।
केही समपछि मंगलबार बसेको नगरपालिका फोरम बैठकले पनि राजधानी प्रवेश गर्ने नाका सिल गर्न सेनाको सहयोग मागेका हुन् । नाकाहरुमा कडाई गर्न नेपाली सेना परिचालन गर्नुपर्ने निष्कर्ष निकालेको बैठकको छ ।
यसअघि काठमाडां उपत्यकाका केही प्रमुख जिल्ला अधिकारीबाट पनि नेपाली सेनालाई नाकामा परिचालन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।
यो सबै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सेना परिचालन गर्ने सरकारको तयारीसँग जोडिएको आएको स्रोत बताउँछ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले पनि उपत्यका प्रवेश नाकाहरुमा सेना परिचालन गरेर कडाई गर्नुपर्ने भनेको छ ।
‘‘कोरोना संक्रमणको दर घटेको छैन, तर बन्दाबन्दीले दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका परिवारमाथि समस्या थपिँदै गयो’ मेयर महर्जनले भने, ‘संक्रमितलाई मानिसहरुको सम्पर्कबाट छुट्याएर समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्छ भनका छौं ।’
नगरपालिका फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय भएका छन् ।
निषेधाज्ञालाई खुकुलो बनाएर दैनिक गतिविधि सञ्चालन गर्नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनलाई सुझाव दिइएको बुढानलीकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले बताए । ‘कोभिड १९ भाइरसलाई कसैले पनि देख्न सक्दैन, यो छिट्टै अन्त्य पनि हुँदैन । त्यसैले सबैलाई आआफ्नो ठाउँमा जिम्मेवार बनाएर दैनिक गतिविधि खुला गर्नुपर्छ’, खरेलले भने, ‘निषेधाज्ञालाई खुकुलो पारेपछि सर्वसाधारण आफैंले सामाजिक दूरी कायम गर्नुपर्छ । सबै सचेत हुनुपर्छ ।’
बैठकले उपत्यकाका स्थानीय तहहरुले दिने सेवा पनि आवश्यकताअनुसार सुचारु गर्ने निर्णय गरेको छ । ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाले दिने सेवालाई पनि आवश्यकता अनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ’ मेयर महर्जनले भने ।
२३ भदौ २०७७, मंगलवार २१:२९ बजे प्रकाशित




