गुल्मीमा कुटपिटबाट २३ वर्षीय होटल सञ्चालकको मृत्यु
गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
इस्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौर घर भई वडा नम्बर १ को छिनुवामा होटल गर्दै आएका २३ वर्षीय मोतिबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
तर, उनलाई कसले र किन कुटपिट गर्यो कुरा खुल्न नसकेको प्रहरिले जनाएको छ।
सोमबार बिहान कुवँरलाई घाइते र अचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मृतक मोति र दाजु यमबहादुर कुवँरले संयुक्त रुपमा छिनुवामा होटल सञ्चालन गर्दै आएका थिए ।
यमबहादुरले आफू आइतबार राति ९ बजे घर गएको र सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा फेला पारेको प्रहरीमा बताएका छन्।
प्रहरी उपरीक्षक श्रेष्ठले घटनास्थल र मृतकको शरीरमा लागेको चोटलाई हेर्दा कुटपिटबाटै ज्यान गएको देखिएकोले अनुसन्धान भइरहेको बताए।
अचेत अवस्थामा होटलमै फेला परेका कुँवरको उपचारको लागि गुल्मी अस्पताल तम्घास लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो।
अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको जनाएको छ।
२२ भदौ २०७७, सोमवार १४:२० बजे प्रकाशित




