नेपालको गुमेको सबै भूभाग फिर्ता ल्याएरै छाड्ने ओलीको दृढता

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको समेत बताए ।
उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त समेत व्यक्त गरे ।
वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।
साथै अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने दाबी गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।’
दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए ।
महाकाली सिञ्चाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिन्चाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए ।
अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि उनले दिए ।
१० फागुन २०७७, सोमवार १८:५७ बजे प्रकाशित