सीमा मात्र होइन, मन जोडिएका देश हो नेपाल : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएका मात्र नभएर मन जोडिएका सबै देश भारतको छिमेकी भएको बताएका छन् ।
शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले जमिन र समुन्द्र दुवैबाट सीमा जोडिएका देशहरु भारतको छिमेकी भएको बताएका हुन् ।
उनले भने, ‘जमिनबाट होस्, वा समुद्रबाट हामी सबै छिमेकी देशसँग सम्बन्ध बलियो बनाइरहेका छौं, हामी छिमेकी देशसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पनि मजबुत बनाइरहेका छौं ।’
दक्षिण एसियामा विश्वकै एक चौथाइ जनसंख्या रहेको उल्लेख गर्दै मोदीले यस क्षेत्रका नेताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने बताए ।
यस क्षेत्रमा शान्ति स्थानिा भए मात्रै मानवताका लागि हित हुने पनि उनले बताए ।
मोदीले भौगोलिक सीमा जोडिएका देश मात्रै छिमेकी नहुने उल्लेख गर्दै भने, ‘आज हाम्रो भौगोलिक सीमा जोडिएका देश मात्रै छिमेकी होइनन्, ती देश पनि हाम्रा छिमेकी हुन् जोसँग हाम्रो मन जोडिएको छ ।’
उनले पछिल्लो समय पश्चिम एसियाली देशहरुसँग भारतको सम्बन्ध मजबुत भएको पनि उनले बताए । यी देशमा ठूलो संख्यामा भारतीय नागरिकहरुले काम पाएको उल्लेख गर्दै मोदीले त्यसको प्रशंसासमेत गरेका छन् ।
३१ साउन २०७७, शनिवार १२:३४ बजे प्रकाशित