अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्ताव

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ ।

बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने किसिमको रहेको राष्ट्रपति बाइडेनले दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

कोरोना महामारीले समस्या पारेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै प्रशंसा पाउनुभएको थियो ।

यो वर्षको अनुमानित घाटा तीन दशमलव सात ट्रिलियन डलर पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा एक दशमलव आठ ट्रिलियनमा झर्ने उल्लेख छ ।

महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ ।

बजेटमा आठ सय अर्ब डलरभन्दा धेरै रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गर्नका लागि छुट्याइएको छ भने दुई सय अर्ब पूर्व-प्राथमिक विद्यालयमा जाने तीन/चार वर्ष उमेरका बालबालिकालाई निस्शुल्क विद्यालयको व्यवस्था गर्न छुट्याइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद काँग्रेसबाट पारित हुनुपर्छ ।

१५ जेठ २०७८, शनिवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु