फ्रान्समा सैनिकहरूले दिए गृहयुद्धको चेतावनी

फ्रान्समा केही दिनअघि प्रकाशित एक खुला पत्रले निकै चर्चा बटुलिरहेको छ । त्यस खुलापत्रमा १ लाख ३० हजार मानिसले हस्ताक्षर गरेका छन् ।

पत्रमा फ्रान्स गृहयुद्धको चपेटामा पर्न लागेको चेतावनी दिइएको छ ।

पत्र एक दक्षिणपन्थी पत्रिकामा प्रकाशित भएको हो । फ्रान्स सरकारले उग्रवादी मुसलमानहरूलाई छुट दिएको आरोप पत्रमा लगाइएको छ ।

पत्रमा लेखिएको छ, ‘हाम्रो देशलाई जीवित राख्नका लागि पत्र लेखेका हौं ।’

पत्र नखुलाइएका जवानले लेखेको जानकारी दिइएको छ र जनसमर्थनको अपील गरिएको छ ।

फ्रान्स सरकारले पत्रको निन्दा गरेको छ । अप्रिल महिनामा पनि यस्तै किसिमको पत्र आएको छ ।

समाचार संस्था एएफपीका अनुसार, गृहमन्त्री जेराल्ड डार्मानिनले यस नयाँ पत्रलाई कच्चा स्टन्ट र यसमा हस्ताक्षर गर्ने अज्ञात व्यक्तिहरू पानीमरुवा भएको बताए ।

सेनामा कार्यरत तथा जगेडा सदस्यहरूलाई धर्म र राजनीतिका विषयमा सार्वजनिक धारणा व्यक्त गर्न प्रतिबन्ध रहेकाले यो पत्र लेख्नेहरूलाई सजाय दिइने पनि फ्रान्स सरकारको भनाइ छ ।

उग्रदक्षिणपन्थी नेता तथा अर्को वर्ष आउन लागेको राष्ट्रपति निर्वाचनकी उम्मेदवार मरिन ल पेंले अप्रिल महिनामा प्रकाशित पत्रलाई सही ठहर गरेकी थिइन् ।

नयाँ पत्र वेला हेक्चुएल नामक पत्रिकामा आइतवार साँझ प्रकाशित भएको हो ।

त्यो लेख्ने सैनिकहरूले विभिन्न मुलुकमा उग्रवादी इस्लामिकहरूसँग लड्न आफूहरूले ज्यान सुम्पेको तर देशमै उग्रवादीहरूलाई छुट दिइएको गुनासो गरेका छन् ।

गृहयुद्धको स्थिति आएमा सेनाले सुव्यवस्था मिलाउने भनेर पनि लेखिएको छ ।

फ्रान्स गृहयुद्धमा फस्न लागेको पनि उनीहरूको भनाइ छ ।

उग्रदक्षिणपन्थीहरूबाट दबाब परेपछि फ्रान्सले केही समयअघि एक विवादास्पद विधेयक प्रस्ताव गरेको छ । त्यसमा राष्ट्रपति इम्मानुएल म्याक्रोंले कट्टर इस्लामबाट पृथक् हुने कुरा राखेका छन् ।

तर त्यस विधेयकले मुसलमानहरूलाई तारो बनाएको भनी देशविदेशमा आलोचना गरिएको थियो ।

२८ वैशाख २०७८, मंगलवार १२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु