लालु यादवले पाए जमानत, बिहारको चुनावी राजनीतिमा तरंग

बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित नेता लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ ।

चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ ।

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ।

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्नेछ ।

यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौँदेखि राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् ।

यादव सन् २०१७ को डिसेम्बरदेखि जेलजीवन बिराइरहेका छन् । उनले भारतीय फौजदारी संहिताबमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् ।

यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।

२६ असोज २०७७, सोमवार ०८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु