चार्टर फ्लाइट भन्दा नियमित उडान महँगो किन ?

नेपालमा हुने उडानमा कडाई गरिएपछि नेपाल आउन लाग्ने हवाई भाडा भने निकै उकालो लाग्न थालेको छ । उद्दार उडानमा महँगो तिरेर आएका नेपालीले भन्दा नियमित रुपमा टिकट काटेर आउनेको महँगो पर्न जाने अवस्था देखिएको छ ।

अन्तर्राष्ट्रिय उडानको जहाजको अधिकतम भाडादर इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएसन आयटाले तोक्ने गरेको छ । एशोसिएसनले तोकेको अधिकतम भाडादर सामान्य प्रचलित भाडादर भन्दा निकै महँगो हुन्छ । आयटाले सो भाडादर चार्टर उडानलाई समेत विचार गरेर तोक्ने भएकोले चार्टर उडानभन्दा पनि निकै माथि हुने गरेको हो ।

अहिले नेपाल फर्कनेको संख्या अत्यधिक रहेको तर कोटा सीमित मात्रै हुँदा इन्टरनेशनल एयरलाइन्सहरुले अधिकतम मूल्यसम्ममा टिकट बिक्री गर्न थालेका छन् । युएईमा यसअघि १ हजार ३ सय दिराममा चार्टर फ्लाइट हुँदै आएको थियो । अहिले एयरलाइन्सहरुले २ हजार ३ सय दिरामसम्म लिन थालेका छन् । अरु सबैतिर यस्तै अवस्था छ ।

पर्यटन मन्त्रालय आफैं पनि चार्टर उडानभन्दा पनि नियमित उडानको भाडादर महँगो हुन गएको स्वीकार गर्छ । पर्यटन मन्त्रालयका सहप्रवक्ता पौडेल भन्छन्, ‘हामीले भाडा बढाएका होइनौं, जुन पहिले थियो अहिल पनि त्यही नै हो । तर, सीमित मान्छे मात्रै नेपाल आउन सकेको भएकोले एयरलाइन्स कम्पनीहरुले अधिकतम भाडादर चार्ज गर्न थाल्नुभएछ, यो चार्टर उडानभन्दा पनि महँगो हुन गएको अवस्था रहेछ ।’

तर यसका लागि मन्त्रालय तत्कालै ठोस् कदम उठाउने पक्षमा छैन । ‘समस्या पहिचान गरिसक्नुभएको रहेछ, समाधानको उपाय के हुन्छ ?’ प्रश्नमा पौडेल भन्छन्, हामीले हिजो मात्रै उडान तालिका सार्वजनिक गर्यौं । अब एक हप्ता हेरौं । एक हप्ताको अवस्था हेरेर थप निर्णय लिन्छौँ ।

पर्यटनमन्त्री योगेश भट्टराईले भने यसमा कुनै जवाफ दिएनन् । पर्यटन मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्न र सेप्टेम्बरदेखि हुन लागेको उडानबारे सार्वजनिक गर्न आयोजना गरिएको भर्चुअल बैठकमा भट्टराईले पत्रकारको यो प्रश्नको कुनै उत्तर नदिई त्यतिकै टारेका छन् ।

तर, यसअघिको उद्धार चार्टर उडानको समयमा भन्दा पनि थोरै संख्यामा मात्रै नेपालीहरु फर्किन पाउनेगरी कोटा निर्धारण गरिएको भन्दै विदेशमा बसेका नेपालीहरु पर्यटनमन्त्रीदेखि रुष्ट बनेका छन् । उनीहरुले विदेशी एयरलाइन्स कम्पनीसँग साँठगाँठ गरेर यसो गरिएको आरोप समेत भट्टराईमाथि लगाउन थालेका छन् ।

विमानस्थल तथा यातायातको व्यवस्थापन गर्दा जोखिम हुने भन्दै यसरी कोठा निर्धारण गरेको सरकारको तर्क छ । तर यसले संक्रमण रोकथाम हुनुको सट्टा झनै बढ्ने विज्ञहरु बताउँछन् ।

कात्तिक पहिलो सातादेखि चाडबाड सुरु हुन्छ । असोज मध्यसम्म नेपाल आइपुगे मात्रै दशैंअघि नै २ साताको होम क्वारेन्टिनको शर्त पालना गर्न सकिन्छ । तर, त्यसभन्दा पछि आउनेको दशैं क्यारेन्टिनमै वित्छ । यस्तो अवस्थामा यो शर्त हुने सम्भावना बढी हुन्छ । दशैंको समयमा परिवारभन्दा अलग भएर बस्न नचाहने भएकोले उल्लंघन गर्ने र गर्न प्रेरित गर्नेको संख्या समेत बढ्छ ।

यसो हुन नदिई सरकारको स्वास्थ्य शर्त पालना गराउन असोज मध्यसम्ममा धेरैभन्दा धेरैलाई नेपाल आउन दिनुपर्छ । तर, त्यो डेडलाइनसम्मको उडानलाई सरकार आफैंले सीमित गरिदिएको छ । यसले गर्दा दशैंको समयमा थप जोखिम सरकार आफैंले निम्त्याइरहेको विश्लेषण समेत स्वास्थ्य विज्ञहरुको छ ।

११ भदौ २०७७, बिहीवार १९:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु