राष्ट्रियसभाको विषयगत समितिका सभापतिको निर्वाचन हुँदै
राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ ।
राष्ट्रियसभाले सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ ।
सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुपर्नेछ ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४।३० बजे सूची प्रकाशन गरिनेछ । यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्ने छन् ।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यतालिका तयार गरिएको छ । शनिबार मात्रै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावलीको बाधा अडकाउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए । चारवटै विषयगत समितिको कार्यकाल गत शुक्रबार सकिएको थियो ।
२० साउन २०७७, मंगलवार ०६:२६ बजे प्रकाशित