२१ वर्षपछि चित्रबहादुर केसीले छाडे काठमाडौँ
‘अन्त कोठामा बस्ने मान्छे फेरिन्छन्, मेरो चाहिँ घरबेटी नै तीन जना फेरिए,’ केसीले हाँस्दै सुनाए

कोठामा पंखा बेतोडले घुमिरहेको छ। तर, गर्मी अलिकति पनि कम भएको छैन।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी ‘भर्चुअल मिटिङ’ मा व्यस्त छन्। वाफिने गर्मीमा जुममा एक घण्टा बिताउन उनलाई हम्मे पर्छ।
बल्लबल्ल बैठक सकिन्छ। ८१ वर्षीय केसी तात्तिएको मोबाइल राखेर सोफामा सुस्ताउँछन्।
बिहीबार जुममार्फत गरेको यो उनको दोस्रो बैठक थियो। ४ बजेपछि उनी तेस्रो बैठकमा सहभागी हुने तय थियो।
२१ वर्ष काठमाडौँमा बिताएका केसी केही समययता भैरहवाको गर्मी खाइरहेका छन्। अनलाइनमार्फत हुने बैठक सकेर उनी बेला–बेला बरन्डामा निस्कन्छन्। अलिअलि हावा खान्छन् र फेरि कोठामा फर्कन्छन्। उनको मोबाइलको घण्टी बजिसकेको हुन्छ।
सबै काम फोनबाटै गर्नुपर्ने बाध्यतामा छन् उनी। तराईको हावापानीमा अभ्यस्त भइसकेका छैनन्। घरबाहिर निस्कन मिल्दैन। लुम्बिनी प्रदेशमा पनि निषेधाज्ञा लगाइएको एक महिना भइसकेको छ।
भैरहवाको ठुटेपिपलस्थित छोरी भानु जीसीको घरमा उनको दिनचर्या यसैगरी बितिरहेको छ।
गर्मीले उकुसमुकुस हुँदा उनलाई काठमाडौँको शीतल हावाको सम्झना आउँछ।
‘जस्तोसुकै गर्मी हुँदा पनि काठमाडौँमा यस्तो उखरमाउलो हुँदैनथ्यो,’ उनी भन्छन्।
यसरी काठमाडौंबाट भागेँ
जनमोर्चाका अध्यक्ष केसी काठमाडौँको घट्टेकुलोमा एउटै डेरामा दुई दशकभन्दा लामो समय बसे।
यो बीचमा उनी डेरा बसेको घर तीन पटक बिक्री भयो तर, उनले डेरा छोडेनन्।
‘अन्त कोठामा बस्ने मान्छे फेरिन्छन्, मेरो चाहिँ घरबेटी नै तीन जना फेरिए,’ केसीले हाँस्दै सुनाए, ‘पुराना घरबेटीले मलाई पनि घरसँगै बेचेर गए। जति नयाँ घरबेटी आए पनि मैले कोठा छाड्न परेन। त्यहीँ २१ वर्ष बिताएँ।’
तर, अघिल्लो वर्ष कोरोना महामारी भएपछि उनलाई काठमाडौँको बसाइ सासना लाग्न थाल्यो। चैतदेखि एक सय २० दिन लामो लकडाउन। लकडाउन हटेपछि बढ्दो संक्रमण। कोठामा वृद्ध दम्पती मात्रै।
असोजमा उनले काठमाडौँ छाड्ने निर्णय लिए।
‘कोरानाले समस्या पार्यो। ७५ वर्षीया श्रीमती सुगरको बिरामी छिन। म आफैँपनि ८१ वर्षको भएँ,’ केसीले भने।
‘७ महिनासम्म कोठामा थुनिएर बस्नुपर्यो। चिसो घाम नलाग्ने कोठा,’ केसीले भने, ‘त्यसमाथि काठमाडौँ बसिसक्नु नाईं, त्यहाँ बस्न खान निकै गाह्रो पर्न थाल्यो। त्यसो भएर भागेँ काठमाडौंबाट। २१ वर्ष बिताएको डेरा छाडेर भैरहवा हान्निएँ।’
भैरहवामा बस्ने छोरीले उनलाई बोलाएकी थिइन्।
‘छोरी पनि एक्लै छिन, उनका छोराछोरी सबै विदेश छन्। उनलाई पनि साथी चाहिएको, हामीलाई पनि साहारा चाहिएको,’ केसीले भने।
‘छोरीले पोहोर चैतदेखि तपाईंहरुलाई काठमाडौंमा कोरोनाले खान्छ, यता आउनु म पाल्छु भनिन्, त्यसबेला केही कामले गर्दा आउन सकिएन,’ केसीले काठमाडौं छोड्नुको कारण खुलाए, ‘तर, ७ महिना बसेपछि बाच्नै नसकिने भयो, निस्कन नि नपाइने भयो। जम्मै कुरा महंगो, त्यसो भएर काठमाडौंबाट सुट्ट भागियो।’
अहिले नगई नहुने कार्यक्रम पर्दा मात्रै काठमाडौँ जाने विचारमा छन् उनी। त्यस्तो बेला कपनमा रहेको पार्टी कार्यालयमा बस्ने योजना उनले बनाएका छन्।
एउटा कोठामा गुजारा
२०५६ सालमा बाग्लुङबाट चुनाव जितेपछि केसीले काठमाडौँमा डेरा लिएका थिए। सुरुमा एउटा कोठा लिएका थिए।
‘पछि विस्तारै खाली रहेका कोठा कब्जा गर्दै गएर ३ वटा कोठा बनाएँ,’ केसीले सम्झे, ‘फ्ल्याट लिएको त ०६१ तिर मात्र हो, नत्र एउटै कोठामा बसेँ।’
सुरुको भाडा १ हजार थियो। फ्ल्याट लिएपछि भने भाडा एकैपटक ९ हजार तिर्नुपर्यो।
‘तपाईंसँग पैसा छैन भनेर सस्तो मिलाइदिए, अहिले त त्यहाँ २०र२२ हजार पर्छ,’ उनले भने।
तीनवटा कोठामध्ये एउटा भान्सा थियो। एउटामा उनका नाति बस्थे। बाँकी एउटामा बुढाबुढी।
त्यसो त उनी उपप्रधानमन्त्री भए, सहकारी तथा गरिबी निवारण मन्त्रालय चलाए। तर, उनले सम्पत्ति जोडेनन्।
अरु नेताहरुले काठमाडौंमा घर बनाइरहँदा तपाईं किन बाहिरिनुभयो त भन्ने प्रश्नमा केसीले सधैँझैँ कडा जवाफ दिए।
‘उनीहरुले पैसा कमाएका छन्। विभिन्न स्रोतबाट आर्जन गरेका छन्। घर बनाएका छन्। गाडी चढेका छन्,’ उनले भने, ‘उनीहरुका लागि काठमाडौं नै उपयुक्त भयो। कालो कमाइ केगरी खर्च गर्नेरु अब हाम्रो त त्यस्तो भएन।’
केसीका दुई छोरा र एक छोरी छन्। एक छोरा जापानमा छन्।
‘सन्तान चाहिँ मैलेजस्तै घरव्यवहार छाडेर राजनीतिमा लागेनन्,’ उनले भने।
काठमाडौँको सम्झना
प्रदुषण, महंगीजस्ता अप्ठेराले सास्ती भए पनि काठमाडौँको सम्झना उनलाई आइरहन्छ। त्यसको एउटा कारण हो– सञ्चारमाध्यम।
‘यहाँ मिडियाले त्यस्तो खोजी गर्दैनन्, काठमाडौंमा हुँदा त डेरामै भेट्न आउँथे, दैनिक कुनै न कुनै मिडियाले बोलाउँथे,’ केसीले तुलना गरे, ‘यहाँ फोन र जुमबाट मात्र मिडियासँग भेट हुन्छ। मिडियासँग भेटघाट यता आएपछि कमै भयो।’
भैरहवा बसाइमा राजनीतिक गतिविधि र सम्पर्कसम्बन्ध पनि पातलिएको उनले बताए।
‘प्रविधिको जमाना छ। तैपनि जति काठमाडौँ बस्दा सबैसँग सम्पर्क हुन्थ्यो, सबै कुरामा जानकारी पाइन्थ्यो,’ केसीले भने, ‘यता बस्दा कम हुने रहेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध उनको पार्टी पनि आन्दोलित भयो। अहिले पनि उनले विपक्षी गठबन्धनलाई समर्थन गरेका छन्। गठबन्धनका उम्मेदवारलाई जिताउन जनमोर्चाले मतदान गरिरहेको छ।
तर, नेताहरुले उनलाई काठमाडौँ बोलाएका छैनन्।
‘प्रचण्ड, देउवा, नेपाल कसैले पनि बोलाएका छैनन्,’ केसी भने।
‘जुमले जोगाइदियो बाटोखर्च’
महामारीको बीचमा पनि पार्टीको काममा सक्रिय छन्। भर्चुअल माध्यमबाट पार्टीको बैठक राख्छन्, नेताहरुलाई निर्देशन दिन्छन् र पार्टीको कार्ययोजनाबारे ब्रिफिङ गर्छन्।
‘यहीँबाट जुममा बैठक राखेर कतिपय काम, प्रशिक्षण गरिरहेको छु,’ केसीले सुनाए, ‘आजपनि दिनभर प्रशिक्षण र बैठक भयो। काठमाडौँमा साथीहरुसँग कुरा हुन्छ। कार्यालय बैठक, केन्द्रीय समितिको बैठक जुममै भयो।’
सशरीर उपस्थित भएर गरेको बैठकजस्तो नभए पनि भर्चुअल बैठकले बाटोखर्च जोगाइदिएकोमा उनी सन्तुष्ट छन्।
‘प्रविधिले सजिलो बनाएको छ, जुममै पार्टीको बैठक राख्छु,’ केसीले भने, ‘कोरोनाले सबैसँग भेट गर्न सम्भव भएन, तर एउटा गुन लगायो। नत्र बाटो खर्च खोजेर काठमाडौँ जानुपथ्र्यो। अहिले त सबै खर्च जोगियो।’
२२ जेठ २०७८, शनिवार १५:५६ बजे प्रकाशित