त्रिदेशीय कप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुँदैछ ।

यसअघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो ।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो ।

उपाधि भिडन्तमा भने नेपाल तेस्रो पटक बंगलादेशसँग भिड्दै छ । सागमै नेपालले एक खेल जित्दा एक खेल हारेको छ ।

यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

गत कार्तिकमा बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलको पहिलो खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल बराबरीमा सकिएको थियो ।

पछिल्ला आधा दर्जन भेटमा नेपाल १ खेलमा विजयी हुँदा २ खेल हारेको छ । ३ खेल बराबरीमा सकिएका छन् ।

नेपालले पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यो खडेरी पुर्नका लागि पनि यो खेल महत्वपूर्ण छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

बंगलादेशले कीर्गिस्तानलाई १–० गोल अन्तरले हराएको थियो भने नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले कीर्गिस्तानको यु–२३ टिमसँग पनि गोलरहित बराबरी नै खेलेको थियो ।

विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

१६ चैत २०७७, सोमवार ११:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु