‘काठमाडौं मेयर कप’ प्रतियोगिता २२ गते सुरु हुने

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने ‘काठमाडौं मेयर कप’ क्रिकेटमा पहिलो दिन नै दुई खेल हुने भएका छन् ।
आउने २२ गते सुरु हुने प्रतियोगितामा पहिलो दिन त्रिभुवन आर्मी क्लब र एपीएफबीचको खेल कीर्तिपुर मैदानमा साथै नेपाल पुलिस क्लब र वागमती प्रदेशबीचको खेल मूलपानी मैदानमा हुनेछ ।
प्रतियोगितामा गएको माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिम त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस क्लब, बागमती प्रदेश सहित एक नयाँ टिम ‘काठमाडौं मेयर एघार’को सहभागिता हुनेछ।
काठमाडौं महानगरको टिममा रहने खेलाडी प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबाट क्यानले छनोट गरेको हो ।
जसमा सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्र जंग शाही, नारायण जोशी, हरिशंकर साह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खड्ग बहादुर बोहरा छन् ।
प्रतियोगिता आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सहमति गएको माघ २० गते नै भएको हो।
१८ फागुन २०७७, मंगलवार १६:३१ बजे प्रकाशित