नेसन्स लिग फुटबल : नर्वेको फराकिलो जीत

युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले फराकिलो जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा नर्वेले रोमानियालाई ४–० ले हरायो ।
नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गरे ।
खेलको १३औं मिनेटमा नर्वेले हालान्डको गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा २–० को अग्रता कायम गर्यो ।
६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नर्वेलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७४औं मिनेटमा एलेक्सान्डर सोरलोथको पासमा हालान्डले गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गर्दै नर्वेलाई ४–० को सानदार जित दिलाए ।
जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ ।
इंग्ल्यान्डले बेल्जियमलाई हरायो
युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले १ ० ले पछि परेको अवस्था उल्टाउँदै २–१ को पुनरागमन जित हात पारेको हो ।
इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले गोल गरे भने बेल्जियमका लागि रोमेल लुकाकुले एक गोल गरे ।
आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाअुना टोली बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको लिएको थियो । एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनी आफैंले गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्पत नै बराबरी गोल फर्कायो । थोमस म्युनियरले जोर्डन हेन्डरसनलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए जसमा रासफोर्ड चुकेनन् ।
६४औं मिनेटमा किरिएन ट्रिपिएरको पासमा मासन माउन्टले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।
यस जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
२६ असोज २०७७, सोमवार ०७:३४ बजे प्रकाशित