इङ्लिस प्रिमियर लिगमा चेल्सीसंग आर्सनल १–० पराजित

काठमाडौं, माघ ११ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल चेल्सीसंग १–० गोले पराजित भएको छ ।
आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई महत्वपूर्ण जित दिलाउन डिएगो कोष्टाले २३ औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि आर्सनलका डिफेन्डर पर माटेसाकर रातो कार्ड खाई मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा समेटिएको थियो ।
जितपछि चेल्सी २३ खेलबाट २८ अंक जोड्दै अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ । समान खेलबाट ४४ अंक जोडेको आर्सनलले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । आर्सनल तेस्रो स्थानमा छ भने समान ४४ अंक जोडेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेष्टर सिटीको भने ४७ अंक छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा स्वान्सी सिटीले एभर्टनलाई २–१ ले हराएको छ ।
जितपछि २३ खेलबाट २५ अंक जोडेको स्वान्सी सिटी रेलिगेसन क्षेत्रभन्दा माथि १५ औं स्थानमा उक्लिएको छ ।
११ माघ २०७२, सोमवार ०३:०९ बजे प्रकाशित