२३ बर्षपछि नेपालले ‘बंगबन्धु गोल्डकप’ जित्यो
काठमाडौं, ८ माघ । २३ वर्षपछि नेपालको राष्ट्रिय टोलीले फुटबलमा पहिलो उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार बेलुकी भएको खेलमा बहराईनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै नेपालले बंगबन्धु गोल्डकप जितेर २३ वर्षपछि पहिलो उपाधि उचालेको हो ।
नेपाललाई उपाधि जिताउन बिमल घर्ती मगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरे । बिमलले खेल सुरु भएको चौथो मिनेटमा नै गोल गरेर नेपालाई अग्रता दिलाएका थिए ।
यस्तै ८७ औं मिनेटमा राईले र इन्जुरी समयमा श्रेष्ठले गोल गरे । श्रेष्ठले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेका थिए । यसअघि नेपालले सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको थियो ।
त्यतिबेला ढाकामै भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको नेपालले २३ वर्षपछि ढाकामा नै बहराईनलाई हराएर उपाधि जितेको हो । सन् १९९३ पछि नेपालको सिनियर राष्ट्रिय टोलीले कुनै उपाधि जितेको थिएन । सन् १९८४ मा भएको दक्षिण एशियाली खेलकुदमा काठमाडौंको दशरथ रंगशालमा पहिलो उपाधि जितेको नेपालको यो तेश्रो ठुलो उपाधि पनि हो । १९९३ मा ढाकामै उपाधि उचालेका बालगोपाल महर्जन यो टोलीका प्रशिक्षक हुन् ।
आयोजक बंगलादेशको फुटबल संघले बंगबन्धु गोल्डकपको उपाधि जित्ने टिमलाई ५० हजार अमेरिकी डलर अर्थात ५४ लाख २० हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरेको छ ।
उपविजेता टिमले भने २५ हजार अमेरिकी डलर अर्थात २७ लाख १० हजार रुपैयाँ मात्र पायो । यस्तै बंगबन्धु गोल्डकपको नक्कल ट्रफी पनि विजेताले पाएको छ । २२ क्यारेट सुनबाट बनेको ट्रफी भने आयोजकले नै राखेको छ । यसअघिका प्रतियोगितामा आयोजकले विजेतालाई असली ट्रफी दिन गरेपनि नगद पुरस्कार दिँदैनथियो । तर आयोजकले प्रतियोगितामा लागेको खर्च भने टिमलाई दिने गरेको थियो ।
अहिलेका प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबर रहमानको सम्मानित नाम बंगबन्धुको नाममा बंगलादेशको फुटबल संघले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् १९९६–९७ मा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिताको यस पटक चौथो संस्करण भएको हो । सुरुका २ संस्करणपछि रोकिएको प्रतियोगिता आयोजकले पोहोरदेखि वर्षेनी आयोजना गर्ने भन्दै पुन सुरु गरेको हो । उपाधि जितेसँगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन् ।
८ माघ २०७२, शुक्रवार १६:०३ बजे प्रकाशित