युएस ओपनको उपाधिका लागि ‌ओसाका र अजरेन्काबीच प्रतिस्पर्धा हुने

 

युएस ओपनको महिला एकलको उपाधिका लागि नाओमी ओसाका र भिक्टोरिया अजरेन्काबीच प्रतिस्पर्धा हुनेछ।

बेलारुसकी अजरेन्काले अमेरिकाकी सेरेना विलियम्सलाई २-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी हुन्।

पहिलो सेट सेरेनाले ६-१ ले सहजरूपमा जितेकी थिइन्। दोस्रो सेटदेखि भने अजरेन्का खेलमा फर्किइन्।

उनले दोस्रो सेट ६-३ ले जितेर खेललाई १-१ को बराबरीमा ल्याइन्।

निर्णायक तेस्रो सेटमा पनि अजरेन्का हाबी भइन्। उनले तेस्रो सेट ६-३ ले नै जितेर फाइनलमा स्थान पक्का गरिन्।

हारसँगै २४औं ग्रान्डस्लाम टेनिसको उपाधि जितेर कीर्तिमान बराबरी गर्ने अभियानमा रहेको सेरेना निरास भइन्।

अब अजरेन्काले २०१८ की च्याम्पियन जापानकी खेलाडी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन्।

ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई २-१ को सेटमा पराजित गरिन्। पहिलो सेट ओसाकाले ७-१ ९७-६० ले जितिन्। दोस्रो सेटमा ब्राडीले ६-३ ले आफ्नो पक्षमा पारिन्।

निर्णायक तेस्रो सेटमा ओसाका ६-३ ले हाबी हुँदै उपाधितर्फ अघि बढिन्।

पुरुष एकलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ। जसमा स्पेनका पाब्लो बुस्टा र जर्मनीका अलेकजेन्डर जभेरेभबीच पहिलो सेमिफाइनल हुनेछ।

दोस्रो सेमिफाइनलमा रसियाका डानिल मेडभेडेव र अस्ट्रियाका डोमिनिक थियमबीच खेल हुनेछ।

२६ भदौ २०७७, शुक्रवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु