समाजसेवी बार्बराको अन्त्येष्ठी
काठमाडौं । गएको शुक्रबार निधन भएकी समाजसेवी तथा अमेरिकी पत्रकार बार्बरा एडम्सको आज पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको छ । पशुपतिस्थित बिद्युतीय शवदाहगृहमा जलाउनुअघि बार्बराको पार्थिव शरिरअन्तिम श्रद्दान्जलीका लागि सोमबार मध्यान्ह प्रज्ञा भवन कमलादीमा राखिएको थियो । श्रद्धाञ्जली दिन पुगेका पूर्व गृहमन्त्री वामदेव गौतमले बार्बराको नागरिकताको प्रतिलिपी बार्बराको शवको शिरानी मुनी राखिदिएका थिए । अमेरिकामा जन्मिएर हुर्किएकी बार्बरा एडम्स नेपाली एक देशभक्त सच्चा राष्ट्रवादी नेपाली बनिन् । सञ्चारमन्त्री शेरधन राई, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, पूर्व वाणिज्यमन्त्री सुनिल बहादुर थापा, बार्बराका बिदेशी साथीहरु तथा पत्रकार लगायतले बार्बरालाई अन्तिम श्रद्धाञ्जली दिए । मुटु रोगबाट पीडित पत्रकार एडम्सको शुक्रबार साँझ राजधानीको ग्रान्डी अस्पतालमा सघन उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको थियो । बार्बरा बेलायती महारानी एलिजाबेथ द्वितीयको सन् १९६१ मा भएको नेपाल भ्रमणमा इटालियन अखबारको तर्फबाट रिपोर्टिङ् गर्न पहिलोपल्ट नेपाल आएकी थिइन् । नेपालको सौन्दर्यताबाट प्रभावित भएकी ३० वर्षे युवा पत्रकार बार्बरा त्यस यता यतै बसिन् । बार्बरा पूर्वराजा ज्ञानेन्द्रका काका बसुन्धरा शाहसँगको संबन्धमा थिइन् ।
१३ वैशाख २०७३, सोमवार १५:०७ बजे प्रकाशित