‘महिला हिंसा असभ्यता हो’ भन्ने लेखेर सार्वजनिक स्थलमा राख्ने सरकारको निर्णय
बलात्कारमा मेलमिलाप गराउनेलाई कारबाही

सरकारले ‘महिला हिंसा असभ्यता हो’ भन्ने ब्यानर सार्वजनिक स्थलमा राख्ने निर्णय गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले फागुन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘महिला हिंसा असभ्यता हो’ भन्ने वाक्य उल्लेख भएका ब्यानर सार्वजनिक स्थलमा राख्ने निर्णय गरेको जानकारी दिइन् ।
महिला, कानून र विकास मञ्चले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जानकारी दिएकी हुन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नीतिसमेत सार्वजनिक गर्न लागिएको उनले बताइन् ।
दिवसका अवसरमा अमेरिकाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार पहिलोपटक नेपाली महिला मुस्कान खातुनले पाउन लागेको भन्दै मन्त्री महत्तले भनिन्, ‘यो गर्वको विषय हो ।’
बलात्कारमा मेलमिलाप गराउनेलाई कारबाही
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बलात्कारका घटनामा मेलमिलापमा नाममा आफैँ मिलाउनेलाई कारबाही हुने बताएकी छन् ।
‘आपराधिक मानसिकता भएकाले बालिकामाथि बलात्कार गर्ने गरेका छन्, महिलाका पक्षमा कानूनी व्यवस्था हुँदाहुँदै सुन्नै नसक्ने घटना भइरहेका छन्, महिला हिंसा अन्त्य गर्न सबैबीच सहकार्य गरेर अघि बढ्न आवश्यक छ,’ मन्त्री महतोले भनिन्, ‘सबै जिल्लामा महिला प्रहरी सेल भए पनि महिला अधिकृत नहुँदा पनि महिला हिंसामाथिको घटना छानबिन र कारबाहीमा प्रभाव परेको छ ।’
श्रम शक्तिमा २६.३ % महिला सहभागिता
कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले श्रम शक्तिमा २६.३ प्रतिशत महिला सहभागिता पुगेको उल्लेख गर्दै धेरै विषयमा महिला सशक्तीकरण बढेको बताइन ।
महिला हिंसा कम गर्न मन्त्रालयले सरोकार भएका निकायसँग सहकार्य गरिरहेको जानकारी पनि उनले दिइन् ।
निजामती सेवामा २७ र जग्गाको स्वामित्व पाउने महिलाको प्रतिशत ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिको विवरण सार्वजनिक गर्न लागिएको सचिव खतिवडाको भनाइ थियो ।
नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशलाल कर्णले बलात्कारका घटनामा एक जनाभन्दा बढी सहभागी भए डीएनए परीक्षणको प्रतिवेदन वास्तविक नआउने गरेको बताए । यस्ता घटनामा धेरै लामो समयसम्म प्रमाण नरहने भएकाले छिटो परीक्षण हुनुपर्ने उनले सुनाए।
महिला हिंसाका घटनामा मिसिल बनाउँदा पीडितको नाम परिवर्तन गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।
महिला हिंसाका घटनामा छानबिनका लागि ५८ जनामात्र महिला प्रहरी अधिकृत भएकाले अप्ठ्यारो भएको प्रहरी नायब महानिरीक्षक कर्णको भनाइ थियो ।
एक दिनमा सात जनामाथि बलात्कार
वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले एक दिनमा सात जना महिलामाथि बलात्कार हुने गरेको दुःखद् घटना सुनाउनु हुँदै बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ भदौसम्म एक हजार २२१ वटा यौनजन्य महिला हिंसाका घटना भएको बताइन । ९० प्रतिशत बालिकामाथि आफन्तबाटै हिंसा हुने गरेकाले चनाखो हुनुपर्ने उनको भनाइ थियो ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बलात्कारका घटनामा हत्या हुने महिलाको नाम, तस्बिरसहितको विवरण सार्वजनिक हुनु कानुनी व्यवस्था विपरीत भएको बताए । भारतमा चर्चित बलात्कारपछि हत्याको घटनामा पीडितको वास्तविक नाम सार्वजनिक नहुने गरेकाले नेपालमा त्यो अभ्यास हुन नसकेको बताए ।
‘इन्टरनेशनल एलर्ट’ का देशीय निर्देशक रबिना श्रेष्ठले मधेशमा ५४ र पहाडमा ३२ प्रतिशत महिला हिंसाको घटना हुने गरेको बताइन ।
मञ्चले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सातै प्रदेशमा साताव्यापी कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष गीता अर्यालले जानकारी दिइन ।
२१ फागुन २०७७, शुक्रवार २२:०३ बजे प्रकाशित