कृषिमन्त्री र सचिवले युरिया मलको ठेक्कामा २९ करोड कमिसन लिए !

राज्यकोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले युरिया मल खरिदको ठेक्का लगाएको छ ।

कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन मल ल्याउन प्रति मेट्रिक टन ४७३.७० डलर अर्थात एक अर्ब ३६ करोड २४ लाख ३९ हजार रुपैयाँमा नेपाली कम्पनी जोशी बीजलाई ठेक्का दिएको हो ।

जोशी बीज त्यही कम्पनी हो जसले करिब डेढ महिनाअघि ३ मेट्रिक टन मल ल्याउन एक अर्ब ७ करोड ४२ लाख हाराहारी प्रस्ताव गरेको थियो । तर लागतभन्दा बढी रकमको प्रस्ताव परेको भन्दै ठेक्का नै रद्द गरिएको थियो । कृषिमन्त्री पद्माकुमारी अर्याल र सचिव डा. योगेन्द्रकुमार कार्कीको दबावमा ठेक्का रद्द गरी त्यही कम्पनीलाई २९ करोड रुपैयाँ थप रकममा ठेक्का लगाएको स्रोतले बताएको छ ।

दोस्रो पटक बोलपत्र आह्वान गर्दा आवेदन नै परेन । तेस्रो पटक बल्ल जोशी बीजले ठेक्का पायो, तर एक मेट्रिक टनमा झण्डै १० हजार रुपैयाँ  ८२.७ अमेरिकी डलर  महँगोमा । ‘एक अर्ब ७ करोड ४२ लाख रुपैयाँ बराबरको ३ हजार मेट्रिक टन युरिया मल किन्न कृषि सामग्री कम्पनीले अघि बढाएको ठेक्कामा हस्तक्षेप गरेर प्रति मेट्रिक टनमा ८२.७ डलर लागत बढ्ने स्थिति सिर्जना गरियो’, मन्त्रालय स्रोत भन्छ, ‘यसले करिब २९ करोड रुपैयाँ अतिरिक्त भार थपिने भएको छ ।’

दुई महिनामा ३ ठेक्का

वर्षे धानमा हाल्न एक अर्ब ३६ करोड २४ लाख रुपैयाँ एक करोड १७ लाख ३ हजार अमेरिकी डलर० बराबरको युरिया मल किन्न कृषि सामग्री कम्पनीले ८ मंसिरमा पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

२३ पुसमा आवेदन खोल्दा प्रति मेट्रिकटनमा ३९१ डलरमा मल ल्याउन जोशी बीजले प्रस्ताव गरेको पाइयो । तर कम्पनीको लागत र ठेकदारको प्रस्तावमा करिब ४ डलर फरक रहेको भन्दै मन्त्रालयले ठेक्का रद्ध गराएको थियो ।

कम्पनीले २७ पुसमा दोस्रो ठेक्का निकाल्यो । तर एउटा पनि ठेक्का प्रस्ताव आएन । मल ल्याउन नसकेपछि प्रति मेट्रिकटन लागत ४८७ डलर कायम गरेर २२ माघमा तेस्रो पटक बोलपत्र आह्वान गरिएको थियो ।

 

४ फागुन २०७७, मंगलवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु