यी हुन दशैं भत्ता नलिने घोषणा गर्ने सांसदहरु

कोरोना भाइरस कोभिड–१९ को महामारीको समयमा पनि दशैं भत्ता लिएको भनी आलोचना हुन थालेपछि पाँच सांसदले भत्ता नलिने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा नेता भीम रावल र सांसद सूर्य पाठकले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो दशैं भत्ता कटौती गरिदिन आग्रह गरेका छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुुसार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र नेकपा नेताद्धय रावल र पाठकले पत्र पुगेको छ ।
नेकपाकै नेता जनादर्श शर्माले पनि सामाजिक सञ्जालमार्फत दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।नेकपाका प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन । 

दसैं भत्ताले भेन्टिलेटर किनौं : जनार्दन शर्मा
नेकपाका सांसद जनार्दन शर्माले दशैं भत्ताको रकम भेन्टिलेटर किन्न लागि खर्च गर्न सकिने बताएका छन्।
‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं’ शर्माले ट्विटरमा लेखेका छन् ।
सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने पनि उल्लेख गरेका छन् ।

‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु’ उनले भनेका छन् ।

मन्त्रिपरिषदको निर्णयमा टेकेर दिइएको हो : सचिवालय
कतिपयले सांसदहरुले दशैं भत्ता आएको नआएको थाहै नभएको वा दशैं भत्ताको विषयमा सांसदहरुसँग सोधी खोजी नगरिएको टिप्पणी गर्ने गरेका छन् । ‘सांसदको के दोष रु सचिवालयले हालिदियो’ एक सांसदले भने ।

तर, आफुहरुले अघिल्लो वर्षको मन्त्रिपरिषदको निर्णयमा टेकेर सांसदहरुलाई खातामा दशैं भत्ता उपलब्ध गराइदिएको सचिवालयका प्रवक्ता पाण्डेले प्रष्टीकरण दिएका छन् । ‘हाम्रो काम समन्वय गर्ने हो, अघिल्ले वर्षको निर्णयमा टेकेर पठाइयो । नदिने हो भने सोही अनुसार निर्णय भएर आउनुपर्दथ्यो’ पाण्डेले भने ।
संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था छ ।

तर, दशैं खर्चसम्बन्धी व्यवस्था छैन । अघिल्लो वर्ष सरकारले निर्णय नै गरे सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराएको थियो ।
गतवर्ष जस्तै यसवर्ष पनि सांसदलाई नियमित तलबमा दशैं भत्ता बापत्त एक महिना बराबरको रकम बढी दिइएको छ । हाल संघीय सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ छ ।
संघीय संसदमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी ३३४ जना सदस्य छन् । ति मध्ये केही निलम्बनमा पनि छन् । निलम्बनमा रहेका सांसदहरुले निलम्बनमा रहुन्जेल तलब,सुविधा केही पनि पाउँदैनन् ।

२ कात्तिक २०७७, आइतवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु