भारतीय सेनाध्यक्ष कात्तिक अन्तिममा नेपाल आउने

उनी यही कात्तिक महिनाभित्रै आइपुग्ने कार्यतालिका तयार हुँदै छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार उनको भ्रमण तालिका कात्तिकको अन्तिम साता हुने छ।

अहिले उनको भ्रमणबारे तालिका सार्वजनिक गरिएको छैन। ‘उहाँको भ्रमण कात्तिक अन्तिममा हुने छ, हामी दुई पक्षले भ्रमणको तालिकाबारे छलफल गरिरहेका छौं,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले भने, ‘कार्यतालिका बन्नेवित्तिकै हामी सार्वजनिक गर्छौं।’

सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, जारी बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नरवणे कालापानी लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।

भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सेनाले जनाएको छ।

२८ असोज २०७७, बुधवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु