ककसको झल्को दिने महिला सांसदहरुको वलत्कार विरोधी समुह गठन बलात्कारीलाई मृत्युदण्डको माग

संविधान निर्माणका बेला महिलाहरुको माग संबोधन गराउनका लागि सबै राजनीतिक दलका नेतृत्वहरुले ककस गठन गरेका थिए ।

ठीक त्यसैको झल्को दिने गरी संघीय संसदमा रहेका महिला सदस्यहरुको सोमबारको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समुह गठन गरेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको हो ।

समितिले बलात्कार घटनामा प्रंहरीले जाहेरी लिन नमानेको, जनप्रतिनिधि र परिवारका सदस्यले गराउने मिलापत्र, बलात्कारका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा अध्ययन गर्ने सांसद पाण्डेले जानकारी दिइन् ।

बलात्कारीलाई मृत्युदण्डको माग
भेलामा सहभागि महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताए ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरिन् । शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताइन् ।

सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका महिलालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् । सांसद बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घटना बाहिर नआएको बताइन् ।

छलफलमा ३० सांसद सहभागी थिए ।

१२ असोज २०७७, सोमवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु