अफताब आलमको मुद्दामा अदालतले माग्यो कैफियत प्रतिवेदन

पहिलो संविधानसभा निर्वाचनताका बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित् सांसद मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा।मनोजकुमार शर्माको इजलाशले आइतबार घटनासम्बन्धी सबै विवरण भएको फाइल झिकाउने आदेश दिएको हो ।
२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जीउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत रौतहटको आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालतले सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश बदरको माग गरेर ३१ भदौमा आलमले सर्वोच्चमा निवेदन दिएका थिए ।
४ असोज २०७७, आइतवार २१:१० बजे प्रकाशित