७० करोडका लागि बाँस्कोटाले बार्गेनिङ गरेको ५ मिनटको भिडियो लिएर आउँदैछु : मिश्र

पूर्वमन्त्री एवं नेकपा नेता गोकुल बाँस्कोटाको ७० करोड घुस प्रकरण नाम दिईएको एक बिजनेस मिटिङ्गको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत भएको दाबी गरेका छन् ।

हाल देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् ।

तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर हुन भन्दै सरकारी दैनिक पत्रिकामा सुचना समेत जारी गरेको छ ।

मिश्रले सोही प्रकरणको भिडियोको डिभाईस लिन नै आफु जापान आएको र अख्तियारका अधिकृतको सम्पर्कमै रहेको तर अख्तियारले ७ दिनको सुचना निकालेर बोलाउनुले आश्चर्यमा पारेको समेत बताए ।

कोरोनाका कारण आफु देश फर्कन नपाएको तर अख्तियार अधिकृत प्रविन पोख्रेलसँग नियमित सम्पर्कमा रहेको मिश्रले दाबी गरेका छन् । उनले आफु नेपाल एयरलाईन्सको उडान मार्फत ३० सेप्‍टेम्बरमा नेपाल आउन लागेको र आएपछि नै सबै कुराको छिनोफानो हुने बताएका छन् ।

नियमित उडान नभएको कारण मलाई आउन सक्दैन भनेर नै ७ दिनको समय दिएर बोलाएको अनि पूर्वमन्त्री बास्कोटालाई उन्मुक्ति दिने बाटो खोजेको उनको आरोप छ ।

उनले आफुसँग बाँस्कोटाको अनुहार देखिनेगरी ५ मिनेट ४ सेकेण्डको भिडियो सुरक्षित रहेको र गोकुल बाँस्कोटाको आवाज नक्कली भएको भनेर गरिएको प्रचार निराधार भएको पनि जनाएका छन् ।

अख्तियारको सम्पर्कमा हुँदाहुँदै पनि हरायो भनेर सूचना निकाल्नुले चलखेल हुनथाल्यो की भन्‍ने शंका उब्जेको भन्दै उनले यो मुद्धामा आफुले जित्‍नेमा शतप्रतिशत ढुक्क रहेको समेत बताए ।

उनले न्याय मरेको छैन र मन्त्रीको गोजीमा अदालत नभएको भन्दै यो मुद्धामा जनताले बिश्वास गरिसकेको अवस्थामा अख्तियार वा अदालतले सफाई दिने कुरा हुनै नसक्ने उनको दाबी छ ।

यही प्रकरणले नेकपामा आगो लाग्‍ने समेत उनको भनाई छ ।

नेकपा सचिवालयका ९ जनालाई समेत चुनौती दिँदै मिश्रले ६ अर्ब ५० करोड रुपैंया घोटाला भएको समेत दाबी गरेका छन् । उनले अख्तियार, संसद र न्यायलयको प्रतिनिधी राखेर छानविन गर्नुपर्ने माग समेत गरेका छन् ।

१८ भदौ २०७७, बिहीवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु