महोत्तरीमा ‘बोक्सी’ आरोपमा एकल महिलामाथि निर्घात कुटपिट

महोत्तरीमा एक एकल महिलामाथि ‘बोक्सी’ आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया ती महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जादु र टुना(मुना गरी बिरामी पारेको भन्दै शुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट गरेका हुन्।
कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ। उनी अहिले जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचाररत् छिन्।
‘दिनेशको छोरा आशिक बिरामी परेपछि उनीहरूले टुनामुना गरेको भन्दै गालीगलौज गर्दै घरका सबै जनाले कपाल समातेर लछारपछार गरी कुटपिट गरे,’ पीडित महिलाले सेतोपाटीसँग भनिन्, ‘मैले केही गरेको छैन भने पनि उनीहरूले कुट्न छोडेनन्।’
घटना भएको बेला घरमा आफू र छोरीमात्रै रहेको उनले बताइन्।
‘उनीहरू चार(पाँच जना थिए। दुई महिला तिनीहरूसँग प्रतिकारमा जानसक्ने कुरै भएन, पछि छोरा आएर प्रहरीलाई बोलाएपछि मात्रै उनीहरू भागेका थिए,’ उनले भनिन्।
ती महिलामाथि कुटपिट भइरहँदा छिमेकी भने मुकदर्शक बनेका थिए। पीडित महिलाका छोराले भने, ‘म घरमा नभएको बेला आमालाई विभिन्न आरोप लगाउँदै उनीहरूले कुटपिट गरिरहेका थिए, छर-छिमेकका सबैजना हेरेर बसिरहेका थिए, प्रहरीलाई बोलाएपछि मात्रै उनीहरूले आमालाई छोडे।’
यता वडा नम्बर ७ का वडाध्यक्ष मदन यादवले पारिवारिक वादविवाद हुँदा ती महिलाउपर कुटपिट भएको बताए। ‘पारिवारिक विवाद हुँदा उहाँमाथि कुटपिट गरिएको हो, महिलालाई अत्याधिक चोट लागेको छ,’ उनले भने, ‘हामीले उहाँलाई एम्बुलेन्समार्फत् जनकपुरधामस्थित निजी अस्पतालमा भर्ना गराएका छौं।’
पीडितको तर्फबाट अहिलेसम्म जाहेरी नआएकै कारण थप कारबाही प्रक्रिया अगाडि बढ्न नसकेको महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताए।
६ भदौ २०७७, शनिवार २२:२२ बजे प्रकाशित