कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- निषेधाज्ञा हलुका भयो, लकडाउन गर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी बन्द गरेर युद्धस्तरमा महामारी रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई चैत्र महिनादेखि लागू गरिएको चार महिना लामो लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका र विवादास्पद अभिव्यक्तिहरू बढी भोगेको भन्दै कांग्रेसले निषेधाज्ञाको अहिलेको चरणमा देशले ती सबै बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य खोजेको कांग्रेसले स्मरण गराएको छ ।

‘चैत्र महिनादेखि सवा सय दिनसम्मको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरू बढी सुन्यो, देख्यो र भोग्यो ।

निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चैत महिनादेखि गरिएको चार महिने लकडाउनले लकडाउन र निषेधाज्ञा आफैंमा समाधान नभएको पुष्टि गरिसकेको भन्दै कांग्रेसले कोरोनाविरुद्धको संघर्षलाई चुस्त बनाउन निषेधाज्ञा अवधिको उपयोग गर्ने अधिकतम क्षमता सरकारले प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ ।

‘नेपाली कांग्रेस आग्रह गर्दछ– विगतमा गरिएका कमजोरी र गल्तीहरूबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

महामारीको प्रतिकूल वातावरणबीच अग्रपंक्ति फ्रन्ट लाइन मा खटिने स्वास्थ्यकर्मीदेखि सफाइकर्मीसम्म र सुरक्षा व्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मीदेखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मीसम्मलाई उच्च सम्मान गर्दै कांग्रेसले उनीहरूका लागि आवश्यक पर्ने भौतिक सामग्रीदेखि मनोवैज्ञानिक सहजतासम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारसँग माग गरेको छ ।

५ भदौ २०७७, शुक्रवार ०९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु