समालोचक राजेन्द्र सुवेदीको निधन

समालोचक राजेन्द्र सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ । ७६ वर्षीय सुवेदीको उपचार क्रममा सोमबार बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपालले जानकारी दिए ।

सुवेदीलाई केही दिनयता केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई दुई साताअघि संक्रमण पुष्टि भएको थियो । सुरुमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिए पनि पछि उनलाई गंगालालमा सारिएको थियो ।

२००२ साउन १९ गते पाँचथरको अमरपुरमा जन्मिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष नेपाली विषय प्राध्यापन गरेका थिए । उनी समालोचक, निबन्धकार, उपन्यासकारका रूपमा परिचित छन् ।

सुवेदीका ‘विषय गहन : सतह चिन्तन’, ‘स्रष्टा सृष्टि : द्रष्टा दृष्टि’ समालोचना कृति, ‘सुद्युम्न’ र ‘स्वप्न संसार’ पौराणिक उपन्यास, ‘खाली सिसी पुराना कागज’ निबन्ध संग्रहलगायत २० वटाभन्दा बढी कृति प्रकाशित छन् ।

त्यसै गरी सुवेदीले दर्जनभन्दा बढी कृति सम्पादन तथा अनुवाद, बनारसबाट प्रकाशित ‘मञ्जरी’ र समर्पण’ तथा ‘वाङ्मय’ पत्रिकाको सम्पादन गरेको प्राज्ञ नेपालले जनाए । सुवेदीका विरुपाक्ष, विरोचक, रासु उपनामबाट समेत लेख, रचनाहरू प्रकाशित छन् ।

सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

३ जेठ २०७८, सोमवार १०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु