गोर्खाल्याण्डको माग पुरा गर्न भारतीय गृहमन्त्रीलाई मेघालयका मुख्यमन्त्रीको आग्रह

पूर्वोत्तर भारतीय राज्य मेघालयका मुख्यमन्त्री कोनराड के साङमाले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरी भारतीय गोर्खाहरूको जनाकांक्षा छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पूरा गरिदिन अनुरोध गरेका छन्।
साङमाले शाहलाई यो पत्र पछिल्लो सेप्टेम्बर ४ का दिन आफ्नो पार्टी नेशनल पिपल्स पार्टीका राष्ट्रिय अध्यक्षका हैसियतले लेखेका हुन्।
पत्रमा उनले गोर्खाल्याण्डको मागलाई संवैधानिक र न्यायसङ्गत बताउँदै देशप्रति समर्पित गोर्खाहरूको मागलाई जतिसक्दो चाँड़ो सहानुभूतिपूर्वक सुनवाइ गरिदिन अनुरोध गरेका छन्।
‘भारतीय समाजको सुगठनमा अन्य समुदायहरूले सरह गोर्खाहरूले पनि प्रशस्त योगदान पुऱ्याएका छन्’,
उनले पत्रमा लेखेका छन्, ‘गोर्खाहरू पनि अधिकार प्राप्तियोग्य भारतीय नागरिक हुन्, जससित आफ्नो चिह्नारी र बासभूमि हुने अधिकार छ।’
कोनराड साङमाले पत्रमा भारतीय गोर्खाहरूले देशका लागि दिएको योगदान र बलिदानको उल्लेख गरेका छन्।
केन्द्रीय गृहमन्त्री अमित शाहलाई लेखेको पत्रमा साङमाले भनेका छन्, ‘गोर्खाहरूका लागि छुट्टै राज्य गोर्खाल्याण्डको रूपमा दीर्घलम्बित संवैधानिक मागबारेमा तपाईं राम्रोसित अवगत हुनुहुन्छ। गोर्खाहरूले भारतलाई धेरै समयपहिले आफ्नो घर मानिसकेका छन्।
आफ्नो मातृभूमि भारतका लागि प्रचुर योगदान पुऱ्याएका छन् तथा यस देशको सुरक्षाका खातिर चरम उत्सर्गहरू गरेका छन्। महान् स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्लको शहादतले देशमा त्यतिखेर उच्चतम सम्मान प्राप्त गऱ्यो, सन् २००४ मा जतिखेर भारतको संसद भवन परिसरमा उहाँको सालिग स्थापना गरियो।’
उनले पत्रमा थप लेखेका छन्( ‘डम्बरसिंग गुरुङ अनि अरिबहादुर गुरुङ भारतको संविधानसभाका सदस्यहरू थिए भने अरिबहादुर गुरुङले भारतीय संविधानको गृहित प्रारूपमा हस्ताक्षर गरेका थिए। यसरी नै, क्याप्टन रामसिंह ठकुरी अर्का महान् स्वतन्त्रता सेनानी तथा सङ्गीतज्ञ थिए, जसले प्रेरणादायी राष्ट्रिय गीतहरूमा धून भरेका थिए।’
३० भदौ २०७७, मंगलवार २१:४६ बजे प्रकाशित