नेता विक्रम पाण्डे नेकपा प्रवेश गर्ने चर्चाले राप्रपामा तरंग
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एकजना पूर्वमहामन्त्री नेपाली कांग्रेस प्रवेश गरेको एक सातापछि फेरि अर्का पूर्वउपाध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने चर्चाले राप्रपामा तरंग ल्याएको छ।
सो चर्चालाई केहि दिनयता पार्टी नेताहरुकै बैठकमा समेत छलफलको विषय बनाइएको छ।
पार्टीका पूर्वउपाध्यक्ष विक्रम पाण्डे नेकपामा प्रवेश गर्न लागेको विषयले राप्रपामा अर्को बहस सुरु भएको हो।
गतसाता पूर्वमहामन्त्री सुनिलबहादुर थापा केन्द्रीय सदस्यहरुको एउटा दलबलसहित कांग्रेस प्रवेश गरेका थिए।
राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएको पाँच महिना हुँदा पनि सुल्झाउन बाँकी रहेका केहि विषयमा सहमति गर्न बिहीबार बसेको नेताहरुको बैठकमा समेत पाण्डे नेकपा प्रवेश गर्न लागेको विषय उठेको थियो।
‘नेकपाका दुई अध्यक्षबीच प्रतिद्वन्द्विता उत्कर्षमा पुगेका बेला पाण्डे नेकपा प्रवेश गर्ने चर्चाले केहि दिनयता राप्रपाभित्र अर्को तरंग ल्याएको छ,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने।
पूर्वमन्त्री हरिबहादुर बस्नेतको बासँबारीस्थित निवासमा बिहीबार बसेको बैठकमा पाण्डे पनि उपस्थित थिए।
बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, श्याम तिमल्सिना, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, जयन्त चन्दसहितका नेताहरुको सहभागिता थियो।
बैठकमा एकीकृत पार्टीको चुनाव चिन्ह हलो हुनुपर्ने अडान पूर्व राप्रपा–संयुक्त पक्षले राखेको थियो।
हलो चिन्हमा विशेष जोड दिनेमध्ये पाण्डे पनि थिए। बैठकमा पाण्डेले पार्टी एक हुने नाममा हलो चिन्ह छाड्न नसकिने बताएका थिए।
‘छुट्टै पार्टी बनाउनु परे बरु म त्यसको नेतृत्व गरेर पार्टी चलाउन तयार छु तर हलो चिन्ह छाड्न सकिन्न,’ बैठकमा उपस्थित एक नेताले पाण्डेलाई उद्धृत गर्दै भने।
पाण्डेको कुरा सुनेपछि जयन्त चन्द र श्याम तिमल्सिनाले पाण्डेको विषयमा पार्टीमा भित्रभित्रै चलेको चर्चाबारे कुरा उठाएका थिए।
‘उहाँहरुले चन्द र तिमल्सिनाले तपाईंले यता नयाँ पार्टी चलाउने पनि भन्नुहुन्छ फेरि अर्को दल प्रवेशका लागि सो दलसँग संवाद पनि अघि बढाउनु हुन्छ भनेर प्रश्न गर्नुभएको थियो,’ बैठकमा उपस्थित एक नेताले भने, ‘उहाँ पाण्डेले त्यसको कुनै जवाफ दिनुभएन।’
नेपालको पहिलो नम्बरका निर्माण व्यवसायी पाण्डे चितवनमा राजनीतिक पकड भएका नेता हुन्।
गत आम निर्वाचनमा राप्रपा संयुक्तको तर्फबाट पाण्डेले तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध चितवन ३ मा प्रतिस्पर्धा गरेका थिए।
प्रचण्डले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए।
उनी यसअघि दोस्रो संविधान सभा निर्वाचनमा चितवन ५ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। अहिले सो क्षेत्र चितवन ३ मा परेको छ, जहाँबाट नेकपा अध्यक्ष प्रचण्ड निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्रमा बलियो पकड र राप्रपाबाट प्रत्यक्ष निर्वाचित महामन्त्री भइसकेका पाण्डे यसअघि सरकारको मन्त्री समेत बनिसकेका हुन्।
तर सिक्टा सिँचाइ परियोजनामा उनको कम्पनीले अनियमितता गरेको भनी अख्तियारले अदालतमा उनीबिरुद्ध समेत मुद्दा हालेपछि उनी पछिल्लो समय त्यसबाट सफाइ पाउन संघर्षरत् छन्।
त्यसका लागि पाण्डेले राज्यका बिभिन्न निकायसँग सम्बन्ध सुधार गरी सो मुद्दालाई आफ्नो पक्षमा पार्न प्रयास जारी राखेका छन्।
यहिबेला नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद बढेपछि पार्टी फुट्नसक्ने संभावनाको समेत आकलन हुन थालेको छ।
प्रचण्डसँग तिक्तता बढिरहेका बेला ओलीले उनलाई चितवनमा कडा टक्कर दिनसक्ने प्रभावशाली व्यक्तिको खोजिको क्रममा पाण्डेसँग कुराकानी अगाडि बढाएको हुनसक्ने आफूहरुको बुझाइ रहेको समेत ती राप्रपा नेताहरुले बताए।
प्रतिस्पर्धीले चलाएको हल्ला
तर, पाण्डेले भने आफूलाई नेकपा वा कांग्रेस कुनै पनि दलबाट पार्टी प्रवेशको प्रस्ताव नआएको दाबी गरे।
पार्टीभित्रका आफ्ना प्रतिद्वन्द्वीहरुले हल्ला चलाएको उनको भनाइ छ।
‘राष्ट्रवादी शक्ति एक भएर अघि बढ्नुपर्छ। राप्रपालाई बलियो पार्टी बनाउनुपर्छ भनेर लागेको ३० वर्ष भयो। मलाई कांग्रेस वा नेकपा कुनै दलबाट केही प्रस्ताव आएको पनि छैन,’ पाण्डेले भने, ‘कसैले मेरो अघि त्यो कुरा भनेका छैनन्। तर मेरा प्रतिस्पर्धीहरुले पार्टीभित्र यो हल्ला चलाएका छन्।’
उनले आफू हल्लाहरुको खण्डन गर्दै नहिड्ने बताए।
उनले राप्रपालाई नै एउटा बलियो राष्ट्रवादी शक्ति बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गरे।
२३ साउन २०७७, शुक्रवार २२:०५ बजे प्रकाशित





