प्रचण्डले भने ओलीले मसँग बदला लिन खोजे
पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए ।
केपी ओली र प्रचण्डको बीचमा पदको लडाई हो भन्ने प्रचार भइरहेको भन्दै चारै नेताले त्यसको खण्डन गरे । ‘पार्टीभित्रको बहसलाई जसरी पदको निम्ति छिनाझपटी हो कि भनिएको छ, त्यो होइन’ अध्यक्ष प्रचण्डले भने ।
आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मंसिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छाडेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’
प्रचण्ड–ओली पक्षका शीर्ष नेताहरु नेताहरुले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको बहस विचार, नीति, विधि, पद्धतीकै भएको बताएका छन् । उनीहरुले पार्टीभित्र भइरहेको बहसलाई यसरी प्रष्ट्याउन खोजेका छन् ।
–मार्क्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ?
– पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ?
– पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ?
– विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ?
– सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ?
पार्टीमा अध्यक्ष केपी ओलीसँग यस्तै विषयमा गम्भीर अन्तरसंघर्ष चलिरहेको नेताहरुले बताए । अध्यक्ष प्रचण्डले अघि भने, ‘अहिलेको बहस पार्टीलाई विधि, पद्धती, विचारका आधारमा चलाउने हो कि पार्टी भनेको केही होइन, एकपटक निर्वाचित भएपछि नेता नै सबथोक हो भन्ने भन्ने बहस हो ।’
प्रचण्डसँग बदला लिन खोजियो
नेकपा अध्यक्ष प्रचण्डका अनुसार मंसिर ४ गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि उनले स्थायी र केन्द्रीय कमिटीको एकरएक बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो र त्यसले लिएका निर्णयहरु पनि मूलभूत रुपमै सही भएको उनको दाबी छ ।
तर त्यो सफलता अर्का अध्यक्ष केपी ओलीका लागि विडम्बना बन्न पुगेको उनले बताए । अब आफूहरु रक्षात्मक हुने भयौं भनेर ओली समूहले भेला गरेर पोलिसी सिफ्ट गरेको भन्दै उनले भने, ‘पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।’
त्यही रणनीति अनुसार ओलीले पार्टी सचिवालयको निर्णयसमेत मान्दिन भनेको उनले सुनाए । पार्टीमा बहस भइरहेका बेला आफूसँग बदला दिने गरी निर्णय हुन थालेको भन्दै उनले भने, ‘मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो ।’
पार्टी बैठकमा अध्यक्षद्वयको कुर्सी हटाउनु प्रतिकात्मक विषय मात्र नभएको भन्दै उनले भने, ‘त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो ।’
पार्टीका अर्का अध्यक्ष ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको उनको आरोप छ । पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा भएको नाराबाजी जस्ता गतिविधि त्यसको प्रमाण भएको प्रचण्डले बताए । यद्यपि आफूहरु अझै पनि पार्टी एकतालाई अक्षुण राख्नुपर्छ, ओलीलाई निषेध होइन, रुपान्तरण गर्नुपर्छ भन्नेमै रहेको उनले बताए ।
प्रचण्डले भने, ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ ।’
छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले म राज्य हुँ, म नै पार्टी हुँ भन्ने प्रवृत्ति समस्या भएको बताए । त्यही कारण पार्टी एकता गरेको लामो समयसम्म एकता प्रक्रिया पूरा नभएको र पार्टी कागजमा सीमित भएको उनले बताए ।
ओलीतर्फ संकेत गर्दै उनले म त महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष हुँ भन्ने भ्रम नराख्न आग्रह गरे । दुबै पार्टीलाई विघटन गरेर पार्टी एकता गरेको र बहुमतको निर्णय पार्टीको निर्णय हुने विधानमा नै प्रष्ट उल्लेख रहेको नेता नेपालले बताए ।
एकता महाधिवेशन नहुँदासम्म सबै सहमतिबाट हुनुपर्छ भन्ने तर्क सुनिएको भन्दै उनले भने, ‘हामीले फरक मत राख्दा हुन्छ भने अध्यक्षले राख्न हुँदैन भन्ने हुन्न ।’ सचिवालयमा बहुमतले निर्णय भए स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जाने र त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए ।
वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको आरोप लगाए । मदन भण्डारी फाउण्डसेनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरुलाई बदनाम गर्ने काम भइरहेको उनले बताए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ओलीलाई रुपान्तरण गर्ने प्रयास सफल नभएको बताए । रुपान्तरणको प्रयासका रुपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको उनले भने, ‘त्यसको विकल्पमा अब नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर भए पनि अगाडि बढ्नुुपर्छ भनेर प्रयत्न भइरहेको छ ।’
पार्टीलाई विसर्जनको दिशातिर जाने र सरकार असफल भएर चुनावमै जान नसक्ने अवस्था आउन नदिन पनि नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर सकारात्मक प्रवृत्तिलाई स्थापित गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनले बताए ।
२१ साउन २०७७, बुधवार १९:०१ बजे प्रकाशित





