नेता हरिबोल गजुरेलले मागे ‘प्रचण्ड’कै राजिनामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै राजिनामा मागेका छन् ।
सोमवार साँझ बीबीसीसँग कुरा गर्दै उनले प्रचण्डकै राजिनामा मागेका हुन् ।
प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट केपी ओलीलाई राजिनामा आग्रह गरिरहेका बेला नेता गजुरेलले उल्टै प्रचण्डको राजिनामा माग गरे ।
पार्टी फुट्नबाट जोगाउने एउटा अन्तिम अस्त्रको रूपमा प्रचण्डले अध्यक्षको पदबाट राजीनामा दिन आफूले सल्लाह दिएको नेता हरिबोल गजुरेलले बताए ।
लिपुलेक, कालापानी र लिपुलेकसहितको नयाा नक्सा सार्वजनिक गरेपछिको अवस्थामा सरकारै ढाल्ने खेल खेल्न नहुने भन्दै उनले प्रधानमन्त्री ओलीको बचाउ गरे ।
आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्दा प्रधानमन्त्रीले सहमतिमा महाधिवेशन गर्ने कुरा भइसकेपछि एउटा अध्यक्षलाई जबरजस्ती हटाएर हुँदैन बरू प्रधानमन्त्री आफैँले अध्यक्षबाट राजीनामा दिएमा हुनसक्छ भनेको कुरा प्रचण्डलाई सुनाएको र परिआएको खण्डमा त्यो विकल्प प्रचण्डले पनि प्रयोग गर्न सक्ने सुझाव दिएको गजुरेलले बताएका छन्।
‘मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ। पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि वहाँले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो।’
नेता गजुरेलका अनुसार उनको सुझाव कार्यान्वयन गर्ने उचित अवसर गत साता आइपरेको थियो जब प्रधानमन्त्रीले एकलौटी रूपमा स्थायी कमिटी बैठक स्थगित गरिदिएका थिए।
‘बैठक एकतर्फी रोक्दा मलाई पार्टीको कार्यकारी अध्यक्ष भन्ने तर अधिकार प्रयोग गर्न नपाउने अवस्था बनाउने भनेर प्रचण्डले राजीनामाको अस्त्र प्रयोग गर्न सक्नुहुन्थ्यो’ उनले भने ।
यसो गर्दा प्रचण्डले पदका लागि संघर्ष गरिरहेको भन्ने आरोप पनि मथ्थर हुने उनको भनाई छ ।
१९ साउन २०७७, सोमवार २१:०८ बजे प्रकाशित





