भाग्य हेर्न गएको जसपालाई ज्योतिषीको जवाफ- ०८० पछि पार्टीको अस्तित्व रहने छैन
ग्रह कटाउन सातहजार मंगल जप गर्न नेताहरुलाई सुझाव

काठमाडौं । पार्टीको भाग्य हेर्न जनता समाजवादी पार्ट जसपा नेपाल ज्योतिषीकहाँ पुगेको छ । भाग्य हेर्न गएका जसपाका नेताहरुलाई ज्योतिषीले भने नमिठो संदेश दिए । त्यो हो– ०८० पछि पार्टीको अस्तित्व रहने छैन ।
हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी बनेको हो ।
त्यसैले पनि आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न जसपाका केही नेताले ज्योतिष लगाएर पार्टीको चिना बनाएका छन् ।
जसपाकै एक नेताबाट प्राप्त चिनाअनुसार जनता समाजवादी पार्टीका लागि शुरुवाती दिन राम्रो भएपनि मध्य त्यति ठिक नरहेको देखाएको छ । वैशाख १० गते राति ११ बजे पार्टीको नामाकरण तथा असार २४ गते ३ः२५ बजे निर्वाचन आयोगले पार्टी दर्ता गरेकोलाई आधार मानेर नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक एवं ज्योतिषी नवीनकुमार झाले सो चिना बनाएका हुन् ।
उनले जसपा नेपालका शीर्ष नेताहरुकै आग्रहमा आफूले पार्टीको चिना बनाएको बताए । समय अभावका कारण २०८० सम्मको मात्र भविष्यवाणी गरेको उनले बताए ।
असार २४ गतेदेखि पुस ५ गतेसम्म पार्टीको आर्थिक क्षेत्रमा सुधार हुनुका साथै प्रभाव वृद्धि एवं समाजमा प्रतिष्ठा तथा स्थायित्वको लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । यो समयमा पार्टी सरकारमा जाने अवस्था समान्यता ठिकै रहेको तर समायोजनका लागि केही संघर्ष गर्नुपर्ने अवस्था चिनामा देखिएको छ ।
२०७७ पुस ६ गतेदेखि २०७८ जेठ २ गतेको बीचमा पार्टीभित्र आन्तरिक कलह शुरु हुने चिनामा उल्लेख छ । पार्टीका नेताहरुमा पद प्राप्तिका लागि मनमुटाव हुने र त्यसका लागि पार्टीमा संघर्ष गर्नुपर्ने अवस्था रहने परिस्थिति चिनामा देखिएको छ । स्रोतका अनुसार ग्रहगोचरले त्यो समय केही नेताहरुले पार्टी छाडेर जान सक्ने र नेताहरुको बीचमा मनमुटाव हुने देखाएको छ ।
यो ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि सुझाव दिएका छन् । पार्टीभित्रको आन्तरिक संघर्ष तथा आपसी खिचातानीलाई समाप्त गर्नका लागि केतु र प्रशासनिक अवरोध हटाउनका लागि सातहजार मंगल जप गर्न उनले नेताहरुलाई सुझाव दिएका छन् ।
२०७८ जेठ ३ गतेदेखि २०७९ साउन २ गतेसम्म पार्टीका लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । पार्टीको कार्यक्षेत्रमा प्रगति एवं विस्तारका लागि धेरै राम्रो समय रहेको उल्लेख गरिएको छ । त्यो बेला सत्ता प्राप्तिका लागि पनि अनुकुल समय रहेको चिनामा देखिएको छ । यही अवधिमा पार्टी कार्यालयको स्थान परिवर्तन हुने भनिएको छ ।
१७ साउन २०७७, शनिवार १९:१५ बजे प्रकाशित