भैँसेपाटीमा गौतमसँग ओलीको २ घण्टा लामो छलफल, नेकपाभित्र तरंग

मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौत्तमबीच २ घण्टा लामो छलफल भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली एक्लै हिडेको आरोप लगाउँदै अगाडि बढ्न प्रोत्साहन गर्दै आएका उनी एकएक ओलीलाई साथ दिन गएपछि नेकपा भित्र तरंग नै आएको छ ।
नेकपामा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम । सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो ।
तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो ।
पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास भैंसेपाटीसम्म पुर्यायो । जुन आश्वासन र भरोसाका साथ गौतमको लिखित प्रस्ताव आयो, त्यही भरोसालाई कायम राख्न ओली गौतम निवास पुगेको बुझ्न कठिन छैन । भैँसेपाटी पुगेर ओली गौतमसँग दुई घण्टा कुराकानी गरेर फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई सहज हुने गरी गौतमले अघि सारेको ६ बुँदे प्रस्तावले नेकपाभित्रै तरंग पैदा परेका छ भने अस्थिर स्वाभावका उनले कुन नियतका साथ यस्तो प्रस्ताव ल्याए भन्नेबारे पनि चासो उत्पन्न भएको छ ।
गौतमको प्रस्तावअनुसार प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर ओली प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ । यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उनको प्रस्ताव छ ।
त्यति मात्र होइन, उनले प्रधानमन्त्री ओलीको काममा पार्टीले कुनै हस्तक्षेप गर्न नहुने पनि आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।
तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व भने पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने उनको प्रस्ताव छ । यस्तै प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि पनि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्न तथा पार्टीको सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सवैधानिक निकायमा नियुक्त गर्न पनि उनले सुझाएका छन् ।
उनले लिखित रुपमै यस्तो प्रस्ताव ल्याउँछन् भन्नेबारे कार्यकारी अध्यक्ष प्रचण्डले कल्पना पनि गरेका थिएनन् । किनभने हिजो उनीसँग उनकै निवासमा भएको छलफलमा यी कुराहरुको बारेमा केही पनि चर्चा नगरेको एक नेताले बताए ।
तर आज दुबै अध्यक्षसामु गौतमबाट अचानक यस्तो लिखित प्रस्ताव आएपछि प्रचण्ड–माधव नेपाल पक्ष सशंकित भएको छ ।
गौतम आफ्नै यसअघिको अभियान र प्रस्तुतिबाट यूटर्न हुँदै अहिलेको अवस्थामा आइपुगेका हुन् । गौतमले यसअघि प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउन सशक्त अभियान चलाएका थिए ।
प्रचण्ड पक्षका एकजना स्थायी कमिटी सदस्यले भने, ‘स्थायी कमिटीको बैठक बस्नुअघिदेखि नै ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाट हटाई अगाडि बढ्नुपर्ने भनि खुमलटारमा गएर सबभन्दा बढी क्रान्तकारी कुरा गर्ने उहाँ नै हुनुहुन्थ्यो । ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट आजको आजै हटाउनुपर्ने कुरा उहाँको हुन्थ्यो । बरु अध्यक्ष प्रचण्डले हतार गर्नुहुँदैन भनि भन्नुहुन्थ्यो ।’
ती नेताको भनाइको पुष्टि गौतमले नै विभिन्न समयमा आफ्ना सचिवालयमार्फत सार्वजनिक गरेको सूचनाबाट पनि हुन्छ ।
हिजोसम्म ओलीको विरोध गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई गोअहेड भन्ने गौतमले एकाएक कसरी पछाडी हटे ? त्यो कुराको चर्चा सर्वत्र रहेको छ । नेकपा अध्यक्ष प्रचण्डले हिजो आफ्नो निवासमा दिनभरि छलफल गरे । केही स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्नुको साथै सचिवालयहरु झलनाथ खनाल, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन, प्रदीप ज्ञवालीलगायतहरुसँग छलफल गरेका थिए ।
सबैले अध्यक्ष अोलीसँग एकपटक छलफल गर्ने र त्यो छलफलबाट सहमति नभए बहुमतको आधारमा निर्णय गर्दै अगाडि बढ्ने सुझाव प्रचण्डलाई दिएका थिए । त्यसपछि अध्यक्ष सिधै बामदेव गौतमको निवास पुगेका थिए ।
त्यहाँ अध्यक्ष प्रचण्डले ओलीसँग भइरहेको छलफलको बारेमा ब्रिफिङ गरेका थिए । सो क्रममा उनले मंगलबार तय स्थायी कमिटीको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि राय मागेका थिए । पहिलादेखि ओलीको राजीनामा माग्ने गौतमले त्यो दिन पनि प्रचण्डलाई अब बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्नुपर्छ भनि सुझाव थिएका थिए ।
गौतमको ‘गो अहेड’ भन्ने जवाफ पाएपछि प्रचण्डले आफ्नो निवासमा फर्केर निकटका केही नेताहरुसँग थप छलफल गरेका थिए । र, मंगलवार तय स्थायी कमिटीको बैठक नरोक्न निष्कर्ष निकालियो ।
यो कुरा प्रधानमन्त्री अोलीसम्म पुग्यो । उनले यो टीमलाई कमजोर गर्नका लागि तत्कालै वामदेव गौतमलाई सम्पर्क गरे । स्रोतले भन्यो, ‘ओलीले मंगलवार बस्ने स्थायी कमिटीको बैठक जसरी रोक्नु पर्यो भने आग्रह गरेका थिए ।’
सुरुमा त गौतमले ओलीले नै पार्टीलाई निकास दिनुपर्ने सुझाएका थिए । तर ओलीले आफूलाई सहयोग गर्न पटक पटक आग्रह गरेपछि गौतम लचक भएका थिए । सोही योजना मुताविक गौतमले ओलीलाई सहयोग हुने गरी दुइटै अध्यक्ष सामु आज ६ बुँदे लिखित प्रस्ताव ल्याएका हुन् ।
सो प्रस्ताव ल्याउनलाई ओलीले प्रधानमन्त्री बनाउनेलागयतका केही आश्वासन समेत दिएको स्रोतको दाबी छ ।
ओली निकट एक नेता भन्छन्, ‘ओलीले गौतमलाई जे गरेर भएपनि प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको छ । वैशाख २० गते सचिवालयले गरेको निर्णयलाई कार्यान्वयन गराउने आश्वासन प्रधानमन्त्री अोलीले दिनुभयो ।’ ओलीले निकटस्थहरुसँग प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भन्दा गौतमलाई बनाउनु ठीक हुने भन्ने गरेको स्रोतको दाबी छ ।
१४ साउन २०७७, बुधवार ०८:३७ बजे प्रकाशित