कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने
डा. शेखर कोइराला भने प्रष्ट खुलेका छैनन्

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची छ । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए, जहाँ कृष्ण सिटौला, प्रकाशमान सिंह र डा। शेखर कोइराला समेत उपस्थित थिए ।
बैठकमा सभापति देउवासँगै संस्थापन पक्षका सबै नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिए । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विश्वासको मत नदिने र पार्टी प्रतिपक्षमा बस्नुपर्ने मत राखेका थिए ।
डा. शेखर कोइराला भने प्रष्ट खुलेका छैनन् । एक पदाधिकारी भन्छन्, ‘अहिले केहीबेरमा कार्यसम्पादन समितिको बैठक बोलाइएको छ, त्यसमा उहाँले आफ्ना कुरा राख्नुहोला ।’ संस्थापन पक्षको प्रष्ट बहुमत भएकाले कार्यसम्पादन समितिले पनि देउवाको चाहनाअनुसार नै निर्णय गर्ने एक पदाधिकारी बताउँछन् ।
२६ पुस २०७९, मंगलवार १२:३५ बजे प्रकाशित