नारायणकाजी गएको ठाउँमा नजाने मातृकाको घोषणा !

मधेश प्रदेशमा माओवादी केन्द्रको नारायणकाजी श्रेष्ठ पक्ष हाबी हुन थालेपछि पार्टीभित्र विवाद देखिएको छ।
माओवादी केन्द्रले मंगलबार मधेश प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सोही प्रदेशका नेता एवम् पूर्वमन्त्री मातृका यादव अनुपस्थित भएपछि विवाद सतहमा आएको हो।
माओवादी केन्द्रले आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रदेखि प्रदेशसम्मका नेताहरुको उपस्थिति थियो तर मातृका यादव भने अनुपस्थित थिए। जनकपुरधाममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले पनि यादव नआउँदा आफू दुःखी भएको बताएका थिए। उनले भने, ‘असन्तुष्टि रहे पनि उहाँ यहाँ आउनुपर्दथ्यो तर आउनुभएन। मलाई दुःख लागेको छ।’
प्रदेशको कार्यक्रममा नारायणकाजी श्रेष्ठलाई महत्त्व धेरै दिएर सहभागी गराएपछि यादव रुष्ट भएका हुन्। एमसीसी अनुमोदनका बेला नेतृत्वको तीव्र आलोचना गरेका श्रेष्ठलाई पछिल्लो समय दाहालले सँगै लिएर हिँड्न थालेका छन्। मधेशमा माओवादी इन्जार्ज गणेश साह हुन्। उनी यसअघि यादव निकट मानिन्थे। साह भने कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा श्रेष्ठ निकटका गिरिराजमणि पोख्रेल भने उपस्थित थिए। यादव निकट एक नेताले भने, ‘अध्यक्षले प्रदेश २ पनि नारायणकाजीलाई बिर्ताका रूपमा दिएका हुनाले हाम्रो उपस्थिति आवश्यक रहेन।’ उनका अनुसार अध्यक्षले श्रेष्ठ र पोखरेललाई च्यापेपछि मेधशको माओवादीभित्र विवाद देखिएको हो।
‘परिवारभित्र सन्तुष्टि–असन्तुष्टि चलिरहन्छ त्यस्तै मातृकाजी पनि आज असन्तुष्ट हुनुहुन्छ, उहाँसँगको छलफलपछि सबै समाधान हुन्छ।’
मधेश प्रदेशभित्र युद्ध लडेका र पूर्वजनमोर्चाको गरी दुई गुट छ। भूमिगतकालदेखि नै मधेशमा माओवादीको नेतृत्व यादवले गर्दै आएका छन्। गिरिराजमणि पोखरेल र विश्वनाथ साहले पूर्वजनमोर्चा धारको नेतृत्व गर्छन्।
गुटबन्दीकै कारण माओवादी अहिलेसम्म प्रदेश कमिटीसमेत बनाउन सकेका छैन। प्रदेश कमिटीले पूर्णता पाउन नसक्नुमा गिरिराजमणि पोखरेल पार्टीभित्र बढी स्पेस पाउनु र मातृकाको स्वार्थ पूर्ति नहुनु नै रहेको पार्टी स्रोतको दाबी छ।
मातृका सार्वजनिक मञ्चमै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नबाट पछाडि पर्दैनन्। तर गिरिराजमणिको स्पेस पार्टीभित्र बढ्दै गएपछि मातृकाले असन्तुष्टि पोख्दै आएको अर्का एक नेताले बताए।
यता प्रदेश इन्चार्ज गणेश साहले पनि पछिल्लो केही दिनयता पार्टीपंक्तिप्रति असन्तुष्ट चलिरहेको स्वीकार गरे। यद्यपि उनले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको दाबी गरे। उनले भने, ‘परिवारभित्र सन्तुष्टि–असन्तुष्टि चलिरहन्छ त्यस्तै मातृकाजी पनि आज असन्तुष्ट हुनुहुन्छ, उहाँसँगको छलफलपछि सबै समाधान हुन्छ।’
८ चैत २०७८, मंगलवार २२:३१ बजे प्रकाशित