एमसीसी पास गर्ने प्रचण्डको प्रतिवद्धता (पत्रसहित)

'प्रचण्डले एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए'

२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएका थिए । पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिवद्धता जनाउँदै चार÷पाँच महिनाको समय मागेका थिए । ‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं’, दुवै नेताद्वारा हस्ताक्षरित संयुक्त पत्रमा भनिएको छ ।

कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा गरेका थिए । ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेका छौं’, उनले भनेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

एमसीसी बोर्डलाई पत्र लेख्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदबाट अनुमोदनका लागि मागेका छन् । पत्रमा उनीहरुले एमसीसी बोर्ड उपाध्यक्ष फातिमा जी सुमारसँग नेपालमा छलफल भएको उल्लेख गर्दै एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका छन् ।

फातिमा सेप्टेम्बर दोस्रो साता एमसीसी परियोजनाको अवस्थाका बारेमा छलफल गर्न नेपाल आएकी थिइन् । ‘बोर्ड उपाध्यक्ष फातिमा सुमारसँग हामीले विस्तृत रुमपा सम्झौताका बारेमा छलफल गरेका छौं र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धतासमेत जनाएका छौं’ देउवा र प्रचण्डले लेखेका छन्, ‘नेपाल सरकार एमसीसी सम्झौताका पक्षमा रहेको र नेपालको आर्थिक विकासमा यसको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको हामी विश्वास दिलाउन चाहन्छौं ।’

संसदबाट एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन चाररपाँच महिना चाहिने दुई नेताले पत्रमा लेखेका छन् ।

पत्र स्रोत : अनलाइनखबर डटकम

२३ माघ २०७८, आइतवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु