एमाले फेरि फुट्ने भो : मणि थापा

नेकपा एमालेका नेता मणि थापाले विचारविहीनता र शक्तिको तानातानले कम्युनिस्ट आन्दोलन नै विघटनतिर जाने बताएका छन् ।

नेता थापाले एमालेभित्रको १० बुँदे सहमतिले माओवादीबाट केपी शर्मा ओलीलाई समर्थन गरेका आफूहरुलाई अप्ठ्यारो नपारे पनि त्यसले राम्रो संकेत नगरेको बताए ।

उनले थपे, “कमरेड भीम रावलले कार्यदलबाट राजीनामा दिनुभएको हो, एमालेबाट होइन । त्यसैले यसलाई मैले ठूलो समस्याका रुपमा लिएको छैन । पार्टीभित्र रचनात्मकता र वैचारिकताभन्दा पनि आफूलाई पावरमा लैजाने कुरामा ध्यान दिँदा यस्ता कुरा बारम्बार आइरहन्छ । दुई लाइन संघर्ष भएन भने कम्युनिस्ट पार्टी जीवन्त हुँदैन । तर यो व्यक्तिगत प्रतिष्ठा, क्षेत्रगत र गुटलाइनको संघर्ष हो । एकता प्रक्रिया निष्कर्षमा नपुगेको अवस्था हो ।”

नेता थापाले पुरानै एमालेभित्रको झगडाका सतहमा रुपमा आउनु बेठीक भएको बताए । उनले भने, “अहिले नेकपा एमाले नामकरण भए पनि यो नेकपाकै एकीकृत रुप हो । यसलाई पूर्व माओवादीले पूर्व माओवादी भएर, १० बुँदेवालाले १० बुँदे नै भएर अनि पुरानो एमालेले पुरानै भएर सोच्ने हो र यसलाई सही ढंगले व्यवस्थापन गर्न लागेनौं भने पार्टी विघटनतिर जान्छ । नेकपाको जे हालत भयो, त्यही हालत हुन्छ । त्यसैले नेतृत्वले नै मिलाएर लैजानुपर्छ ।”

एमाले छाड्ने भन्दा पनि एमालेलाई नै वैकल्पिक शक्ति बनाउनेमा आफ्नो ध्यान जाने उनले बताए । उनले थपे, “माओवादी केन्द्र पनि अब पुरानो हिसाबले चल्दैन, एमालेलाई पनि चल्न गाह्रो । विचारको बहसभन्दा पनि जसरी पनि चुनाव जित्ने र सरकारमा जाने विघटनवादी सोच हो । जनताकेन्द्रित र रुपान्तरणमुखी हुनु आजको आवश्यकता हो । लामो इतिहास, मूलधार र बहुपक्षको नेतृत्व गर्न सक्ने शक्ति एमाले नै हो ।”

८ कात्तिक २०७८, सोमवार ००:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु