एमालेलाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ : सुवास नेम्वाङ

२७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख र सत्तारुढ दलहरुले पहल गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिनेक्रममा पत्रकारहरुसंग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चीज ठिकठाक हुने बताए । ‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो तर, हाम्रो हकमा किन भएन ? प्रश्न यो हो’ उनले भने, ‘हामी (एमाले)लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’
एमाले शान्त हुने र संसदको गतिरोध अन्त्य हुने उपाय के हो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले एमालेले १४ जना सांसदलाई कारबाही गरेर पठाएको पत्रअनुसार सभामुखले सूचना टास गर्दा त्यसको आधार बन्न सक्ने बताए । ‘हामीले जुन उजुरी दिएका छौं त्यो उजुरी अनुसार उहाँ (सभामुख)ले सूचना टासिदिए हुन्छ । त्यो सूचना टासेपछि एउटा आधार बन्छ कि भन्ने लाग्छ’ उनले भने ।
तर, सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याए पार्टी फुटाउन सक्ने गरी ल्याएको अध्यादेश अनुसार एमालेले कारबाही गरेका १४ जना सांसद सहितका नेताहरुले नयाँ दल दर्ता गरिसकेका छन् । नयाँ दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएर संसदमा सत्तापक्षको लहरमा बस्दै आएको छ ।
नयाँ दल दर्ता भइसकेको अवस्थामा एमालेको पूरानो पत्रको आधारमा सभामुखले कारबाहीमा परेको सूचना टास्न मिल्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले मिल्ने जवाफ दिए ।
‘(सूचना टास्न) गर्न चाहीँ मिल्छ । कस्तो कस्तो अचम्मको काम त भइरहेको छ देशमा । यो त कानुन बमोजिमको काम हो । अब गर्ने नगर्ने उहाँको कुरा हो’ उपनेता नेम्वाङको जवाफ छ ।
२७ भदौ २०७८, आइतवार २१:१८ बजे प्रकाशित