लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको हो । भने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको हो । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने उल्लेख छ ।

संविधानले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ । धारा १६३ को २ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ ।’ त्यसैगरी उपधारा ३ मा भनिएको छ, ‘राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ ।’

१२ साउन २०७८, मंगलवार २२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु