प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित

३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ ।

नेकपा एमालेको माधव पक्षले मत दिने निर्णय गरेपछि देउवाले बिश्वासको मत पाउने भएका हुन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलले देउवालाई मत दिने निर्णय गरेको हो ।

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका थिए ।

यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए ।

तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिदैछन ।

गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् ।

३ साउन २०७८, आइतवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु