१० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने एमाले नेताहरुको निष्कर्ष

२ साउन, काठमाण्डौँ । नेकपा एमाले दोस्रो तहका नेताहरुको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

‘नेकपा एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संविधानलाई सबल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगेका छौं,’ उनले भने ।

शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुुमोदन गर्दै सिर्जनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । उक्त बैठकमा अध्यक्ष ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए ।

यता वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी भएका थिए । पार्टीभित्र देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गएको असार २७ गते दश बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।

२ साउन २०७८, शनिवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु