माओवादी केन्द्रको दलीय हैसियत खारेज गर्न बादल समूहद्वारा आयोगमा निवेदन दर्ता

२३ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दलीय हैसियत खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन्।

‘नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम गर्ने अवस्था छैन। संविधान र कानुन बमोजिम दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ भनेर निवेदन दर्ता भएको छ’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘निवेदकको रुपमा अधिवक्ता सरोज बुढाथोकीको नाममा दर्ता भएको छ। आयोगले निवेदन दर्ता गरिसकेको छ।’

बादल पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले माओवादी पार्टीले महाधिवेशन लगायत सम्पूर्ण गतिविधि नगरेकाले अवैधानिक दलले आफूहरुलाई कारबाही गर्न नसक्ने जिकिर गरेका छन्।

माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य बादलसहित प्रतिनिधि सभाका चार सदस्यलाई यसअघि कारबाही गरिएको थियो। यस्तै, प्रदेश सभा सदस्य ८ जना र स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई माओवावदीले कारबाही गरिएको थियो।

२३ असार २०७८, बुधवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु