आज पनि एमाले कार्यदलको बैठक बस्दै

२२ असार, काठमाडौँ । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि दिउँसो १ बजे बस्दैछ ।  आज सहमतिको मस्यौदामाथि औपचारिक छलफल शुरू हुने भएको छ ।

संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपाल समूहबाट उपाध्यक्ष भीम रावल संयोजकत्वको कार्यदलको बैठक तय भएको छ । दिउँसो बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् ।

यसअघि सोमबार बसेको बैठक सकारात्मक भएपनि सहमति भइसकेको छैन । झण्डै ५० दिनपछि ब्युँतिएको कार्यदलले सोमवार अनौपचारिक छलफलमा भएका कुराकानीको समीक्षा सहित आज औपचारिक प्रस्तावमा छलफल गर्ने निर्णय गरेको थियो ।

एमाले स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले सहमतिका लागि अधिकतम प्रयास हुने बताए ।

‘लामो समय हामीले अनौपचारिक छलफल गर्‍यौं, आज औपचारिक छलफल हुन्छ । छलफल सकारात्मक ढंगले अगाडि बढेकाले हामी निकै आशावादी छौं,’ पाण्डेले  भने ।

कार्यदलमा माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डेय, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरु छन् । यस्तै ओली समूहबाट नेम्वाङसहित उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल नेताहरु छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले भने सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरुद्ध दर्ता गरिएको रिटमा हस्ताक्षर फिर्ता लिनुपर्ने माग गर्दै आएको छ । तर माधव नेपाल पक्ष भने जेठ २ को सहमतिमा फर्किने भएपछि मात्रै एकता सम्भव रहेको बताउँदै आएको छ ।

सोही कारण उत्पन्न विवाद मिलाउन ओली र माधव नेपाल दुवैले कार्यदल बनाएका थिए ।

कार्यदलले पार्टीमा लामो समयको तिक्तता मेट्ने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त हस्ताक्षर सहितको अपिल प्रकाशित गरेर पार्टी एकताको सन्देश दिन सिफारिश गर्ने सम्भावना छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्तालाई पूर्वशर्त बनाएको संस्थापन पक्ष कार्यदलमार्फत सहमति खोज्न राजी भएपछि सोमवार कार्यदलको बैठक बसेको थियो । आइतवार ओलीले कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलसँग बालुवाटारमा लामो वार्ता गरेका थिए ।

२२ असार २०७८, मंगलवार ११:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु