एमिकस क्युरीको राय बाझियो : चुनाव नै उत्तम विकल्प भएको उषा मल्लको जिकिर

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् ।
नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् ।
त्यस्तै उनले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन पनि संविधानसम्मत रहेको दावी गरिन् । ‘मुलुकलाई निकास दिन एकमात्र बिकल्प चुनाव हो । त्यसकारण रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ’ उनले भनिन् ।
संविधानमा धारा ७६(५) को प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार भनी कुनै पनि विषय किटान नगरेकाले यो राष्ट्रपतिको स्वविवेकमा हुने निर्णय भएको वरिष्ठ अधिवक्ता पाठकले बताइन् । उनले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन मितिलाई ध्यानमा राखी त्यसअगावै वालिग नागरिकलाई खोप लगाउने आदेश दिन माग गरिन् ।
बलियो आधार पेश हुन नसकेको अवस्थामा जनादेशका लागी निर्वाचनमा खानेकुरा जायज भएको राय दिँदै पाठकले भनिन्–‘रिट निवेदन खारेज गरिनुपर्छ, निर्वाचनमा जानुपर्छ भन्ने कुरा जायज छ तर, चुनावअघि वालिङ नागरिकलाई कोभिड–१९ को खोप लगाउनुपर्छ ।’
उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनैपर्ने व्यवस्था संविधानमा नभएको जिकिर गरिन् ।
वरिष्ठ अधिवक्ता पाठकले संविधानको धारा ७६ (५) स्वतन्त्र धारा भएको बताएकी छिन् । नेपाल बारबाट विघटन मुद्दामा एमिकस क्युरीमा चयन भएकी पाठले संवैधानिक इजलासमा राय दिँदै भनिन्–‘७६ (५) आफैं स्वतन्त्र धारा हो ।’
उपधारा (५) मा (२) अनुसार भन्ने शब्द उल्लेख गरिएको छ । त्यसबारे पाठकको ब्याख्या छ–‘ उपधारा (२) भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने ब्यवस्था हो त्यो उपधारा पटक–पटक प्रयोग हुन्छ तर (५) चाहिँ एकपटक मात्र प्रयोग गर्न मिल्छ ।’
संविधानले स्वतन्त्र हैसियतमा रहेका सांसदहरुलाई अन्तिम विकल्प स्वरुप अवसर दिएको पाठकको राय छ । ‘दलीय शासन प्रणालीले दल बिरुद्ध जान दिँदैन तर, संसदमा १ सिट पाएर स्वतन्त्र हैसियतका सदस्य जो छन्, उहाँहरुले पनि अरु दलको समर्थनमा प्रधानमन्त्री बनाउन पाउँछन्’ पाठकले भनिन्–‘ त्यो अवसर ७६ (५) ले दिएको छ ।’
२१ असार २०७८, सोमवार १५:५६ बजे प्रकाशित