मध्यावधि निर्वाचन : असोज २० र ३१ मा उम्मेदवारी मनोनयन, साउन १५ भित्र दल दर्ता

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ ।

असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ ।

कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।

२१ असार २०७८, सोमवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु