संवैधानिक इजलासमा आजको सुनुवाइ सकियो, के-के बिषयमा भयो बहस ?

१४ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका छन् ।

मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।

बडालले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दावी गरे । कांग्रेस सभापति शेर बहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादव समेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर गरेका छन् ।

बडालले उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने ब्याख्या गरेका छन् ।

‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ इजलासमा उनले भने–‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’

धारा ७६ (५) को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने जिकिर गर्दै बडालले भने–‘त्यसमा न्यायालयले हात हाल्न मिल्दैन ।’

बडालले नेपालमा पुनर्स्थापना भएको संसदले परिणाम दिन नसकेको दावी गरे । ‘इतिहास हेर्दा संसद पुनर्स्थापना पछि देश ट्याकमा गयो ? ०५१ पछि हामीली के के देख्यौं, बहुदलप्रति वितृष्णा जाग्यो । पुनर्स्थापना भएर आएको संसदले परिणाम दिन सक्दैन’ उनले भने ।

सरकारले जतिसुकै प्रतिकुल भए पनि अदालतको आदेश मानेको उनको भनाइ छ । धारा ७६ (३) को प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भनी रिट निवेदक पक्षका कानुन व्यवसायीले गरेको जिकिरको पनि उनले खण्डन गरे ।

महान्यायाधिवक्ता बडालले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दावी वैधानिक भएको बताए । उनले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग द्वन्द्वमा नजानका लागि संसद विघटन गरेको जिकिर गरे ।

‘अहिलेको विघटन प्रधानमन्त्रीले गरेको होइन संविधानत: भएको विघठन हो । उहाँले राष्ट्रपतिको निर्णय रोपर गर्नुभएको हो । राष्ट्रपतिसंग द्वन्दमा जान्न भनेर उहाँले विघटनको सिफारिस गर्नुभएको हो’ बडालले भने ।

१४ असार २०७८, सोमवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु